२२ भदौ, काठमाडौं । गत साउन १३ गतेदेखी अनिश्चित बनेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक भदौ २६ गते बेलाईएको छ ।
(सोमबार) आज बिहान महासचिव बिष्णुप्रसाद पौडेल सहित अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले बैठक बोलाउने सहमति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
गएको १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठक आन्तरिक विवादकै कारण पटक–पटक स्थगीत हुँदै आएको थियो ।
तर, सहमतिका लागि सुझाव पेश गर्न महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्दै विवाद हल गर्ने प्रयास नेकपामा भएको छ । कार्यदलले ६ भदौंमा नै प्रतिवेदन बुझाएको छ ।
कार्यदलले सुझाव प्रतिवेदन पेश गरेपछि नेकपाको सचिवालय बैठक समेत बसिसकेको छ। १८ भदौको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय गरिसकेको छ ।
नेकपा प्रचार विभाग उपप्रमुख समेत रहेका थापाका अनुसार, कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न नै स्थायी कमिटी बैठक बोलाइएको हो ।
स्थायी कमिटीमा छलफल हुनुअघि कार्यदलमा ठोस् सहमति जुटाउने प्रयास समेत हुने भएको छ । आगामी फागुनमा एकताको महाधिवेशन गर्ने प्रस्ताव गरिएको कार्यदलले महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष प्रधानमन्त्री ओली रहने तथा पार्टीको कार्यकारी अध्यक्षको भूमिकामा दाहाल रहने उल्लेख छ ।





