पु.समाचार

उपत्यकाको निषेधाज्ञा खुकुलो भएसंगै काठमाडौंमा बिहानैदेखी चहलपहल सुरु

२५ भदौ, काठमाडौं । बिगत तिन हप्तादेखी जारी काठमाडौं उपत्यकाको निषेधाज्ञा केहि खुकुलो भएसंगै उपत्यकामा बिहानै देखी चहल–पहल सुरु भएको छ ।

उपत्यकामा गत भदौ ३ गते मध्यरातिदेखि जारी निषेधाज्ञा आजदेखि केही खुकुलो भएको हो । आज बिहानैदेखी सडकहरुमा मान्छेको आवत–जावत भएको छ । यस्तै जोरबिजोर प्रणाली लागू भएसँगै आज भदौ २५ गते बिहीबार बिजोर नम्बरका सवारीसाधन सञ्चालनमा आएका छन् ।

यसअघि बुधबारबारसम्म अत्यावश्यक बाहेकका सवारीसाधन मात्र चल्दा फाट्टफुट्ट मात्र सवारी साधन देखिएका सडकमा आज सवारी साधनको चाप बढेको देखिएको छ । जोर–बिजोरको नियम विपरित चलेका सवारीसाधनलाई सुरक्षाकर्मीले ठाउँ–ठाउँमा रोकेका छन् ।

आजैदेखि १६ सिटभन्दा माथिको सार्वजनिक सवारीसाधन पनि सञ्चालनमा आएका छन् । चालकसहित ३ जनासम्म चलाउन पाइने आदेश जारी भएपछि आजदेखि निर्वाधरूपमा ट्याक्सी सञ्चालनमा आएका छन् ।

आदेशअनुसार तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।

काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रशासन कार्यालयहरूले बुधबार जारी गरेको आदेशमा फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोरहरू बिहान ११ बजेसम्म खुला गर्न दिने निर्णय भएपछि त्यस्ता पसलहरू बिहानैदेखि खुलेका छन् ।

यस्ता पसलहरू बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने आदेश गरिएको छ । प्रशासनले यी निर्णयहरु भदौ ३१ गते मध्यरातिसम्म लागू हुने पनि जनाएको छ । यीबाहेकका पसल तथा व्यवसाय भने बिहीबार बाहेकका विभिन्न दिनमा खोल्न पाइने गरी तोकिएको छ ।