समाचार

दशैंको समयमा भीडभाड हुने हुँदा कोरोना संक्रमण बढ्न सक्ने भन्दै धनकुटामा पनि निषेधाज्ञा

४ कार्तिक, धनकुटा । नजिकिएको नेपालीको महान चाड दशैंसंगै भिडभाडहुने भन्दै विभिन्न जिल्लाहरुमा निषेधाज्ञा लगाईएको छ । यस्तै चाडपर्वमा भीडभाड हुने कारणले कोरोना भाइरस
(कोभिड–१९) को संक्रमण बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले धनकुटामा पनि निषेधाज्ञा घोषणा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले जारी गरेको सुचनामा दशै, तिहार, छठ लगायतका पर्वहरुमा पूजा, प्रार्थनाका लागि मठ, मन्दिरसहितका शक्तिपिठहरुमा विगतका वर्षहरुमा जस्तो हर्षोल्लासका साथ पूजा आराधना गर्ने अवस्था नरहेकाले कात्तिक ३ गतेदेखि कात्तिक १५ गते राति १२ बजेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको बताइएको छ ।

स्थानीय प्रशासन ऐन, २०२० र संक्रामक ऐन, २०२० बमोजिम जारी गरिएको निषेधाज्ञा कसैले उल्लंघन गरेमा प्रचलित कानुन र संक्रामक रोग ऐन अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताएका छन् ।

निषेधाज्ञाको समयमा जिल्लाका सबै नगर तथा गाउँपालिकामा रहेका शक्तिपिठ, मन्दिर, मस्जिद, चर्च, गुम्बाहरुमा दैनिक गरिने नृत्य पाठपूजा, प्रार्थना बाहेक सामुहिक रुपमा भेला भइ कुनै पनि कार्य गर्न पाईने छैन ।

त्यस्तै चाडपर्वको अवसर पारेर सामुदायिक रुपमा भेला भइ शुभकामना आदानप्रदान जस्ता कार्य निषेध गरिएको छ भने जिल्लाभरी बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म आवत जावतमा पनि निषेध गरिएको छ । तर, राजमार्गमा चल्ने लामो दुरी र अत्यावश्यक सेवाका सवारी साधनहरु भने निर्वाध रुपमा संचालन हुने प्रमुख जिल्ला अधिकारी विमलीले बताएका छन् ।