पु.समाचार

निर्वाचन आयोग जाँदै नेकपाको दाहाल-नेपाल समुहः केन्द्रिय सदस्यको नागरिकता पनि लैजाने

७ फागुन, काठमाडौं । केन्द्रिय सदस्यको नागरिकता सहित नेकपाको दाहाल-नेपाल समुह आज निर्वाचन आयोग जाने भएको छ । लामो समयदेखि पार्टी भित्रको विवाद नटुङ्गिएपछि आज बहुमत केन्द्रीय सदस्यसहित दाहाल-नेपाल समूह निर्वाचन आयोगमा जान लागेको हो ।

त्यसका लागि सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित दिउँसो १२ बजे पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ । बहुमत केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेकाले नेकपाको आधिकारिकता आफूहरुले नै पाउनुपर्ने बताउँदै आएको सो समूह आज निर्वाचन आयोग जाने तयारी गरेको हो ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गरेपछि असन्तुष्टि जनाउँदै दाहाल-नेपाल समूहले विरोधका कार्यक्रम गर्दै आएको छ । नेकपाको आधिकारिकताको विषय नटुङ्गिदा विवाद झन् बढ्दै गएको छ ।

दुवै समूहले पार्टीको आधिकारिकता दाबी गरे पनि आयोगले कुनै निर्णय गरेको छैन । आयोगले दुवै समूहले गर्दै आएका निर्णय र कार्यक्रमलाई मान्यता नदिने बताएको छ । सरकारको दबाबमा परेर निर्वाचन आयोगले आवश्यक निर्णय गर्न नसकेको दाहाल-नेपाल समूहले आरोप लगाउँदै आएको छ ।