पर्यटन/संस्कृति

देश पूर्ण शान्तिमा रुपान्तरण भएकाले पर्यटन क्षेत्रले फड्को मार्छः मन्त्री ढकाल

२२ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै अब नेपालको पर्यटनले फड्को मार्ने बताएका छन् ।

प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४औँ वार्षिक साधारणसभाको गएराति उद्घाटन गर्दै उनले फागुन २१ गतेदेखि नेपाल पूर्णरुपमा शान्तिको देशका रुपमा रुपान्तरण भएको र नेपालमा कोभिड-१९ विरुद्धको खोप अभियान पनि सञ्चालन भइरहेकाले विदेशी पर्यटक बढ्ने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, “हामीले योबीचमा दुई अध्याय पूरा गरेर सिके राउतलाई राष्ट्रिय राजनीतिको मूलारमा ल्यायौँ, त्यस्तै पछिल्लो पटक विभिन्न खालका विद्रोह र हिंसाको राजनीतिमा लागेको विप्लव समूहलाई पनि मूल धारमा ल्याइएका छौँ, यसले समाजमा रहेको भय र आतङ्कलाई अन्त्य गरेको छ, अब मुलुकमा पर्यटकले निर्वाधरुपमा हिँडडुल गर्न समस्या छैन ।”

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भई शान्तिपूर्ण राजनीतिमा आउने गरी उक्त समूहको नेतृत्व शुक्रबार सार्वजनिक भएको थियो । यो राजनीतिक सन्देशले कोभिडका कारण थलिएको पर्यटनलाई पुनरुत्थान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । पर्यटनमन्त्री ढकालले कोभिडविरुद्धको खोप पनि लगाउन शुरु भइसकेकाले अब नेपालमा पर्यटक आउन कुनै पनि किसिमको अवरोध नरहेको जिकिर गरेका छन् ।

विदेशी पर्यटक आगमन सहज बनाइने

पर्यटनमन्त्री ढकालले पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्वाधरुपमा नेपाल भ्रमण गर्न दिने तथा अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी० लाई लिखितरुपमै पठाएको र छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने विश्वास व्यक्त गरेका छन् ।

उनले विदेशी पर्यटक आवागमनलाई सहज तुल्याउन व्यवसायीको आग्रहबमोजिम पर्यटन क्षेत्रको समस्या सम्बोधनका लागि अन्तरमन्त्रालय छलफल गरेर पहलकदमी लिएको र यसले छिट्टै परिणाम हासिल गर्ने बताएका छन् ।

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले विदेशीको पर्यटक आवमनलाई सहज तुल्याउन मन्त्रालयले पहल गरिरहेको र छिट्टै यसले निकास पाउने बताएका छन् । पाटा नेपालले प्यासिफिक क्षेत्रका पर्यटन आदन प्रदान गर्ने कार्यक्रम तथा पर्यटकीय गतिविधि बढाउन भूमिका खेलेको भन्दै सचिव कोइरालाले दूरदराजका गन्तव्य प्रवद्र्धनका लागि पनि पाटाले पहल गर्नुपर्ने र त्यसको सहजीकरणका लागि मन्त्रालयले सहयोग गर्ने वचन दिएका छन् ।

उहाँले पर्यटन क्षेत्रको विविधीकरण र अन्तरराष्ट्रिय बजारीकरणका लागि रणनीतिक योजना कार्यक्रम ल्याउन आग्रह गर्दै यसका लागि मन्त्रालय हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।

नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर विदेशी पर्यटक भित्र्याउन प्रमुख पहलकदमी गर्ने संस्थाका रुपमा रहेको पाटाले सरकार र निजी क्षेत्रको समन्वयमा विदेशी पर्यटक ल्याउन उदाहरणीय काम गरिरहेको छ । पाटा नेपाल च्याप्टरले प्यासिफिक क्षेत्रका धेरै व्यक्तिलाई ल्याएर नेपालमा प्रवद्र्धन गरेको र विवादरहित संस्थाका रुपमा आफूलाई स्थापित गरेकामा सचिव कोइरालाले विशेष धन्यवाद ज्ञापन गरेका छन् ।

बिबिसी मास्टर सेफ सन्तोष शाहले नेपालको पर्यटनलाई गुणस्तरीय बनाउन नेपाली रैधाने खानाको प्याकेजिङ ब्राण्डिङ गरी अन्तरराष्ट्रियकरण गर्नेतर्फ सबै क्षेत्रले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । ‘फुड टुरिज्म’ लाई प्राथमिकता दिइ त्यसलाई चाहिने कृषिउपार्जनका विषयमा विशेष प्रवद्र्धनात्मक कार्यक्रम ल्याउनुपर्ने उनको सुझाव थियो ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले कोभिडपछिको पर्यटनका गतिविधिलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्यमा प्रभावकारी प्रवद्र्धनका कार्यक्रम ल्याइनुपर्नेमा जोड दिएका छन् ।

सो अवसरमा पाटाले पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै पूर्वपर्यटनसचिव दीपेन्द्रपुरुष ढकाललाई ‘पाटा लाइफ टाइम अचिभमेन्ट अर्वाड’ ‘पाटा पर्सनालिटी अफ दी इयर अवार्ड’ सेफ सन्तोष साहलाई प्रदान गरियो । यी दुवै पुरस्कार पर्यटनमन्त्री ढकालले वितरण गरेका छन् ।

त्यस्तै जाडो याममा पाकिस्तानको माउन्ट केटु हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गर्ने आरोही दलका सदस्यलाई पाटाकोतर्फबाट पर्यटन सचिव कोइरालाले कदरपत्रद्वारा सम्मान गरेका थिए । कार्यक्रममा सुरसुधाको साङ्गीतिक समूहले विशेष साङगीतिक प्रस्तुति प्रस्तुत गरेको थियो ।