२९ फागुन, काठमाडौं । शिरोमणि बाबुराम आचार्य देशको अमूल्य निधि र इतिहासको गहना भएकाले उनको योगदानलाई चीरस्मरण राख्न विशेष कार्यक्रम ल्याइनुपर्नेमा जोड दिइएको छ ।
आचार्यको १३४औँ जन्म जयन्तीका अवसरमा आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित ‘बाबुराम आचार्य र उनको योगदान विषयक विचार गोष्ठी’ का वक्ताले राष्ट्रका विभूतिका रुपमा रहेका इतिहासकार आचार्यको योगदान तथा उनका सिर्जनालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरणका लागि सरोकारवाला निकायले विशेष भूमिका खेल्नुपर्ने बताए ।
प्रतिष्ठानको सामाजिक शास्त्र विभाग र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले इतिहास शिरोमणि आचार्य देशको अमूल्य निधि र इतिहासको गहना भएकाले उनको योगदानलाई चिरायुसम्म सम्झनेगरी पुरस्कारलगायत विविधि विषयबाट सम्बोधन हुनेगरी मन्त्रालयले नीतिगत कार्यक्रम ल्याउने बताए ।

आचार्य भौतिक रुपमा नरहे पनि उनका इतिहाससम्बन्धी कालजयी कृतिले सदैब जीवित रुपमा स्मरण गराइरहेको उल्लेख गर्दै सचिव कोइरालाले इतिहासमा योगदान दिने व्यक्तिलाई नै इतिहासले सम्झने उल्लेख गरे । उनले आचार्य जस्ता इतिहास, साहित्यका सर्जकको संरक्षण गरी अन्तर्राष्ट्रिय प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए । सचिव कोइरालाले भने, “सगरमाथाको नामाकरण गर्ने आचार्यको जीवन, संघर्षपूर्ण हुँदाहुँदै उनले दिएको ज्ञान सदा चिरस्मरण हुन्छ, राज्यले दिएको महत्वपूर्ण विधाको पद हो ।”
उनले इतिहासविद् आचार्यजस्ता विभूतिलाई कसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने भनेर नीति आवश्यक रहेको र मन्त्रालय त्यसदिशातर्फ अघि बढेको जानकारी दिँदै भूगोल र इतिहासलाई जोडेर प्रवद्र्धनका लागि योजनाबद्ध कार्यक्रम अघि बढाइने बचन दिए ।
नेपाली साहित्यको इतिहास विधामा आचार्यको अतुलनीय योगदान छ । आचार्यको स्वदेश तथा विदेशमा पनि उत्तिकै चर्चा हुन्छ । पर्यटन सचिव कोइरालाले साहित्य, इतिहासको योगदानलाई संरक्षणका लागि राज्यले विशेष ध्यान दिने पनि बताए ।
पर्यटन मन्त्रालयले आचार्यको युगान्तकारी स्मरणका लागि विशेष पुरस्कार स्थापना गर्ने जनाएको छ । पर्यटन सचिव कोइरालाले आचार्यको योगदानको कदर स्वरुप उनको स्मरणलाई जीवन्त तुल्याउन पुरस्कार स्थापनाका साथै अन्य किसिमका कार्यक्रम पनि अघि बढाउन मन्त्रालय सकारात्मक रहेको बताए ।

मन्त्रालयले पुरस्कारका लागि रु १० लाख बजेट विनियोजन गरेको र तीन विधामा दिइने उक्त पुरस्कार यसैवर्ष प्रदान गर्नका लागि आवश्यक कार्यविधि बनाइने प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले जानकारी दिए।
‘इतिहासको आलोकमा बाबुराम आचार्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रा डा सुरेन्द्र केसीले विलक्षण प्रतिभाका धनी इतिहास शिरोमणी आचार्यको योगदानलाई चीरस्मरण बनाउन राज्यले ध्यान दिनुपर्ने खाँचो औँल्याए । उनले आचार्यका हरेक कृतिले ज्ञानका पारखीलाई दिशाबोध गर्नुका साथै अध्ययनमा प्रोत्साहन गर्ने बताए ।
प्राज्ञ प्राध्यापक दिनेशराज पन्तले नेपालको इतिहासलाई प्रमाणिक बनाउन भूमिका खेलेका आचार्यले नेपाली साहित्यको समालोचनालाई माथि पु¥याउन पनि योगदान गरेको बताए । पूर्वराजदूत एवं प्रतिष्ठानका अध्यक्ष राजेश्वर आचार्यले नेपालका पर्यटकीय गन्तब्यमा इतिहास शिरोमणि आचार्यलगायत स्रष्टाका संक्षिप्त पहिचान झल्कने गरी गन्तब्य प्रवद्र्धन गरिनुपर्ने तथा आचार्यका बारेमा थप खोज तथा अनुसन्धान गरी युवापुस्तामा ज्ञान हस्तान्तरण हुनुपर्ने धारणा राखे।
आर्थिक दूरावस्था र कठिनतम जीवनदशाका बीचबाट पनि बाबुरामको जीवन संघर्ष उत्कर्षतर्फ लम्कियो । विसं २००८ मा आचार्यलाई तत्कालीन राज त्रिभुवनबाट इतिहास शिरोमणि को पदवी प्रदान गरिएको थियो । विसं २०२० मा प्रज्ञा प्रतिष्ठानले त्रिभुवन पुरस्कार र २०२८ मा राजा महेन्द्रबाट ‘गोर्खा दक्षिण बाहु’ तेस्रो प्रदान गरिएको थियो । आचार्यको सम्मान स्वरुप हुलाक टिकट निकालेका साथै सडक मार्ग नामाकरण आदि काम भएका छन् ।

विसं १९६३ मा बनारशबाट प्रकाशित सुन्दरी पत्रिकामा प्रकाशित मालिनी विला शीर्षकको कविता नै बाबुरामको प्रथम रचना थियो । उनले १९ वर्षको उमेरमा लेखेका थिए । आचार्यको ८५ वर्षको उमेरमा पहिलो साहित्य कृति ‘तुलनात्मक सुन्दरकाण्ड’ प्रकाशित भयो । आचार्यका ‘भानुभक्त झ्यालखानामा र सगरमाथा वा झामो–लोङमा’ जस्ता थुप्रै साहित्य र इतिहासलगायतका विविध विषयक लेख–रचना प्रकाशित भएका छन् । उनको ६३ वर्षको उमेरमा दुवै आँखा पूर्णतः निस्काम भई दृष्टवीहीन भए । काठमाडौँको सिनामङ्गलमा विसं १९४४ फागुन २९ मा जन्मीएका आचार्यको विसं २०२९ गते भदौ २१ गते ८५ वर्षको उमेरमा निधन भएको थियो ।





