समाचार

‘प्रधानमन्त्रीलाई कानून मिचेर लाखौँ जनताको स्वास्थ्यमा खेलबाड गर्ने छुट छ ?’

११ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीले कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएको स्वास्थ्य मापदण्ड तोडेको आरोप लगाएका छन् ।

डा.लोहनीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मापदण्ड तोडेर लाखौँ जनताको स्वास्थ्यमा खेलवाड गरेको आरोप लगाएका हुन् ।

उनले मन्त्रि र प्रधानमन्त्रीलाई कानून मिचेर आफ्नो लहड पूरा गर्न लाखौँ जनताको स्वास्थ्यसँग खेलबाड गर्ने छुट छ ? भन्दै प्रश्न गरेका छन् । स्वास्थ्य मन्त्रिले मापदण्ड पालना नगरे कोरोना गम्भीर भएर जाने भनिरहँदा पनि प्रधानमन्त्रीले मापदण्डको उपेक्षा गर्दै सयौँ मानिस जम्मा गरेर पुजा गर्ने गरेको उल्लेख गरेका छन् ।

डा.लोहनीले लेखेका छन्, ‘स्वास्थ मन्त्रि त्रिपाठी जीका अनुसार मापदण्ड कडाईका साथ पालन नगरे कोरोना गम्भीर भएर जाने छ। तर प्रधानमन्त्री जी सरकारको मापदण्डलाई पूर्ण उपेक्षा गरि सयौँ मानिस जम्मा गरि पुजा गर्छन र उनका मन्त्रिहरु हजारौँको भिड जम्मा गरि धार्मिक कार्यक्रम माडीमा गर्छन। के मन्त्रि र प्रधानमन्त्रीलाई कानून मिचेर आफ्नो लहड पूरा गर्न लाखौ जनताको स्वास्थसँग खेलबाड गर्ने छुट छ ? के नेपाली जनताको बाच्न पाउने अधिकार माथि हमला गर्नु समाजबाद उन्मुख नीति हो ? माननीय स्वास्थ मन्त्रि जी, अब पदमा मात्रै बस्ने कि मुटु छामेर जनतालाई जवाफ दिने ?