२४ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा देखिएको विवादमा सरकार मुकर्दशक र अनिर्णयको बन्दी बन्नु गलत भएको बताएका छन् । गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताएका हुन् ।
‘न्यायलयमा देखिएका समस्या त्यहीँ भित्रबाट समाधान होस् भनेर मात्र हुँदैन, सरकार यस विषयमा मुकदर्शक भएर बस्न मिल्दैन,’ उनले भने, ‘गठबन्धन अनिर्णयको बन्दी हुनु हुन्न । न्यायालयमा देखिएका समस्याको कारण जनतालाई असुविधा भएको छ, कुनै व्यक्तिको स्वार्थका लागि जनताले दुख पाईरहेका छन्, उनले भने ‘संविधानको भावना र मर्म अनुसार विधिसम्वत तरिकाले यो समस्या समाधान गर्नु पर्दछ,अब यसका लागि सरकार नै अग्रसर हुनु पर्दछ ।’
नेता सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको समेत बताएका छन् । साथै फरक प्रसंगमा नेता सिंहले सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरूरी नै नरहेको बताएका छन् । संविधानअनुसार पनि यस्तो संयन्त्र ओैचित्य नरहेको सिंहले बताए ।
सरकारभन्दा माथि जस्तो संयन्त्र बनेको छ, यो संविधान र प्रजातान्त्रिक विधिविपरीत पनि हुन्छ,’ सिंहले भने । गठबन्धनको सरकार भए पनि राज्यसत्ता सरकारले चलाउने उनले बताए । ‘काम त सरकारले गर्नुपर्ने हो । तर समन्वय समिति बनाइएको छ,अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन,’ उनले भने । उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत रहेको उनको भनाइ थियो ।
साथै नेता सिंहले बर्तमान परिस्थीतिमा अर्लिइलेक्शनको कुनै सम्भावना नभएको समेत बताएका छन् । उनले देशमा विविको शासन स्थापना गराउन र संविधानको रक्षाको लागि बर्तमान सरकार बनेकाले संबिधान अनुसार नै तोकिएको समयमा निर्वाचन हुने बताए ।
उनले आगामी निर्वाचनमा काँग्रेस एक्लै जनतामा जानुपर्ने धारणा समेत राखेका थिए । काँग्रेस जनताको पार्टी भएको र जनताले विश्वास गर्ने भएकाले आगामी चुनावमा काँग्रेसले गठबन्धन नगरि एक्ले जनतामा जानु पर्नेमा उनको जोड छ । नेता सिंहले सत्तारुढ दलहरुले गठन गरेको उच्च स्तरीय राजनीतिक संयन्त्रको कुनै काम नभएको समेत बताए । उनले उक्त संयन्त्र सरकारलाई काम गर्न नदिने र नियन्त्रण गर्ने उदेश्यले स्थापना भएको समेत उल्लेख गरेका छन् ।
साथै कार्यक्रमा नेता सिंहले प्रजातन्त्र प्राप्तीको लागी गणेशमान सिंहले गरेको योगदान स्मरण गरेका थिए । कांग्रेस स्थापना र देशमा प्रजातन्त्र स्थापनाको लागि सर्वमान्य नेता गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको भन्दै नेता सिंहले गणेशमानले देखाएको बाटो बर्तमान काँग्रेसले पछ्याउनु पर्ने बताए ।
वि।सं २०४६ सालको परिवर्तन पछि तत्कालीन राजाबाट प्रधानमन्त्री हुने प्रस्ताव आउँदा अस्वीकार गरी गणेशमान सिंहले जनताले छानेका व्यक्ति प्रधानमन्त्री हुनुपर्दछ भन्ने सन्देश त्यतिबेला नै प्रवाह गरेको उनले बताए । नेता सिंहले गणेशमान सिंह जन्मजयन्तीको अबसरमा शोभाभगवतीमा रहेको उनको शालिकमा माल्याअर्पण गरेका थिए ।





