राजनीति

सबै उम्मेदवार एक ठाउँमा उभिएमात्रै देउवालाई हराउन सकिन्छः महामन्त्री डा.कोइराला

१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोईरालाले सबै उम्मेदवार एक ठाउँमा उभिए मात्रै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई पराजित गर्न सकिने बताएका छन् ।

काठमाडौंमा आज भएको एक कार्यक्रममा बोल्दै महामन्त्री कोईरालाले कांग्रेसमा नेतृत्व परिवर्तन आवस्यक भएको भन्दै आगामी मंसिर २४ देखि २६ सम्म हुने पार्टीको १४ औं महाधिवेशनमा संस्थापन इतर समूह एकढिक्का भएमात्र यो सम्भव हुने बताएका हुन् ।

महामन्त्री कोईरालाले संस्थापनइतर समूहबाट एक जना मात्रै उम्मेदवार बनाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि समेट्नुपर्ने समेत बताएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पहिले पनि सभापतिमा प्रतिस्पर्धा गरिसकेकाले दोहर्याउन नहुने संकेत गर्दै कोईरालाले सभापतिका अर्का आकांक्षी प्रकाशमान सिंह काठमाडौंमा मात्रै केन्द्रीत रहेको आरोप लगाए । नेता सिंहलाई देशभरका धेरै कार्यकर्ताले नचिन्ने समेत कोईरालाको भनाई थियो ।