राजनीति

ओलीको ठोकुवाः कांग्रेसको औंला नसमाती अन्य दल हिँड्नै सक्दैनन्

४ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाले आज आयोजना गरेको नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमाले कसैको वैशाखी नटेकेर आफै निर्वाचनमा लड्न सक्षम रहेको बताएका हुन् । “हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ । आफैँ जित्छ”, उनले भने ।

अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई देख्न नसक्नेहरु फुटाएको आरोप लगाउँदै एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने बताएका छन् । “ सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौँ भनेका छन्”, उनलले भने, “तर नेपाली कांग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौँ । अरु दल कांग्रेसको औला नसमातेर हिँड्न सक्दैनन् ।” सो अवसरमा अध्यक्ष ओलीले नेपाल सम्वत्को क्यालेण्डरसमेत सार्वजनिक गरेका छन् ।

काठमाडौँ महागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका नागरिकलाई सर्वसुलभ सेवा पुर्याइरहेको बताएका छन् । उनले साझा यातायातमा ज्येष्ठ नागरिक र पाँच वर्षभन्दामुनि बालबालिकालाई निःशुल्क सेवा दिइरहेको जानकारी दिएका छन् । महानगरका कमिटीका अध्यक्ष निर्मल देउलाले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजय गराउने बताएका छन् ।