निशा राई/एसियाका ठूला देशहरु चीन र भारतको बीच हिमालको काखमा बसेको नेपाल एक मात्र यस्तो देश हो, जहाँ बहुभाषी, बहुजाति, बहुसंस्कृति र बहुधार्मिक मानिसहरुको बसोबास रहेको छ । भौगोलिक दृष्टिले सानो देखिएता पनि भाषा, धर्म, संस्कृति र जातिको हिसाबले नेपाल बिश्वमानचित्रमा निकै ठूलो र धनी रहेको छ ।
नेपाल प्रकृतिक सम्पदाले निकै नै धनी रहेको छ, जलस्रोतमा ब्राजिल पछि ठूलो देश नेपाल नै हो । आ–आफ्नै भाषा, धर्म, संस्कृति भए पनि सबै नेपाली एकै हौं भनी एउटै माला बनी बसेका छन् । नेपालमा धेरै मात्रामा ऐतिहासिक धार्मिक स्थलहरु, पर्यटकीय स्थलहरु रहेका छन । जसको कारण विदेशी पर्यटकहरु नेपाल घुम्न आउने गर्दछन् ।
पशुपतिनाथ, स्वर्गद्धारी, मुक्तिनाथ, बुढासुब्बा, बराहक्षेत्र, पाथीभरा, सिद्धकाली, माइवेनी, माईस्थान, गजुरमुखी, हलेसीमहादेव, छिन्नमस्ता, राममन्दिर, चाँगुनारायण, सुुर्यविनायक, गुहेश्वरी, बुढानीलकण्ठ, बौद्धनाथ, स्वयम्भु, महाचैत्य ,नक्साल, बंगलामुखी, भद्रकाली, देवीघाट, देवघाट, मनकामना, बाग्लुङ कालिका, विक्रम बाबा, त्रिवेणी धाम, सुपदेउराली, रुरुक्षेत्र, चन्दननाथ, बडी मालिका, वैवनाथ धाम, छिन्ताङ्ग देवी, निशान भगवती इत्यादि धेरै भन्दा धेरै ऐतिहासिक धार्मिक स्थलहरु रहेका छन् । नेपालीहरु धर्म कर्ममा धेरै आस्था राख्ने भएकोले गर्दा आफ्नो संस्कार, संस्कृति अनुसार मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चमा गई पूजा आरधना गर्ने गर्दछन् । नेपाल यस्तो देश हो जहाँ फरक जातजाति अनुसार फरक भाषाहरु अर्थात बहु भाषाहरु बोल्ने गरिन्छ । नेपालका प्रकृति सम्पदाहरु खोलानाला, झरना, नदी, पाखापखेरा, वनजंगल र हिमाल देख्दा सबैको मन लोभ्यउने गर्दछ । संसारकै आग्लो हिमाल सागारमाथा हाम्रै नेपालमा रहेको छ । यसमा ६००० भन्दा बढी नदिनालाहरु रहेको सरकारी तथ्याँक छ ।
२०६८ को जनगणना अनुसार नेपालमा १२५ जातजाति १२३ भाषाहरु थिए भने हाल नयाँ भाषा थपिएर १३१ पुगेका छन् । भाषा आयोगको प्रतिवेदन २०७५/०७७६ को अध्ययन प्रतिवेदन अनुसार ६ वटा भाषाहरु राना थारु (कञ्चनपुर), नारफु (मनाङ), चुम(स्यार)गोर्खा, पाइके (डोल्पा) सेराके(सेके) मुस्ताङ्ग, नुब्री, लार्के थपिएका थिए भने भाषा आयोगको प्रतिवेदन २०७६/०७७ अनुसार थप दुई भाषा मारेक याख्खा र नावा शर्पा गरी नेपालमा जम्मा १३१ वटा भाषाहरु रहेका छन् । नेपाल बहुजाति भएको देश भएता पनि नेपालका प्रमुख जातिहरुको रुपमा बाह्रमाण जाति, क्षेत्री, शेर्पा, थकाली, लिम्बु, चेपाङ, नेवार, राउटे, राई, बाह्रगाउँले, डोल्पो, छन्त्याल, जिरेल, दुरा, ब्यासी, मगर, थारु, तामाङ्ग, झागड, सतार, माझी, लेप्चा, मेचे, कुसुण्डा यी जातिहरुलाई नेपालका प्रमुख जातिहरु मानिन्छ । १२५ जातजाति भित्र ५९ जातिहरु जनजातिमा पर्दछन् ।
जनजाति
नेपालमा रहेका १२५जातजाति मध्ये राई, लिम्बु, नेवार, थकाली, जिरेल, ताङपे, ह्याल्मो, याख्खा, छन्त्याल, मगर, छैरोतन, तीन गाउँले थकाली, बाह्रगाउँले, मार्फाली थकाली, ब्यासी, गुरुङ्ग, शेर्पा, थारु, तामाङ्ग, भुजेल, कुमाल राजवंशी, सुनुवार, धिमाल, भोटे, डोल्पो, दराई, ताजपुरिया, गनगाई, मुगाली, पहरी, तोप्केगोला, ल्होपा, दुरा, लार्के, वायुङ, फ्रि, धानुक, थामी, माझी, दनुवार, चेपाङ्ग, सतार, झागड, बोटे, बराम, थुदाम, सियार, ल्हामी, बनकरिया, कुसुण्डा, कुशवाडिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा र मेचे जातिहरु जनजातिमा पर्दछन् । यी सबै जातिहरुका आ–आफ्नै रीतिरिवाज, संस्कार रहेको छ । मान्छे जन्मदा होस् या मान्छे मर्दा यी जातिहरुले आफ्नो परम्परागत रित अनुसार धर्म , कर्म गर्ने गर्दछन् ।
राई जाति
राई जातिलाई रादु, रोदु, रोदुङ हुदै राई भएको मानिन्छ । राई जातिलाई किरावा, खम्बु पनि भन्निछ । राई जाति नेपालको एक पुरानो साथै नेपालको प्रमुख जाति भित्र पर्दछ । राईहरु पितृ र प्रकृति पुज्ने हुदा राईहरु किराँत समुदाय भित्र पर्दछन् । राईहरुको पूर्खालाई पारुहाङ्ग र सुम्निमा भनिन्छ । राई जातिहरुको मूल थलो भनेको नेपालको पूर्वी पहाड धनकुटा, भोजपुर, उदयपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा र सोलुखुम्बु लाई मूल थलोको रुपमा लिन सकिन्छ भने पाँचथर, सुनसरी, मोरङ्ग, झापा, इलाम, सप्तरी, मकवानपुर राईगाउँ लगायतका जिल्लाहरुमा छरिएर बस्दै आएका पाइन्छ ।
भारतको सिक्किम, दार्जिलिङ र कालिम्पोङमा पनि राई जातिहरुको बाक्लो बसोबास रहेको छ । राई जातिहरुको आ– आफ्नै भाषा रहेको छ । नेपालको १३१ भाषाहरु भित्र २३ वटा भाषाहरु राई भाषाहरु छन् । जसमा छिलिङ, बान्तवा, छिन्ताङ्ग, खालिङ, कुलुङ, थुलुङ, बाहिङ/वायुङ, वाम्बुले, नाछिरिङ, कोयी, दुमी, साम्पाङ, चाम्लिङ, पुमा, मेवाहाङ, याम्फु, लोहरुङ, आठपहरिया, बेलरिया, बुङला, लाम्छिोङ, तिलुङ र जेरुङ भाषाहरु पर्दछन् । पहाडी क्षेत्रमा बसोबास गर्ने राई जातिहरुले ढुंगा माटोले घर बनाइ घरको ढोका एउटा पूर्व र अर्को दक्षिण तर्फ ढोका राखेर घर बनाएका हुन्छन् । जनजातीभित्र पर्ने राईहरुको घरको छानो प्रायः खर र जस्ताले छाउने र घरलाई कमेरो, रातो माटो र गेरुले पोतेर चटक्क बनाइएका हुन्छन् । तराई भेगमा अथाव बजार क्षेत्रमा बसोबास गर्ने राईहरुले आफ्नो इच्छा अनुसार बनाउने गर्दछन् ।
राईहरुले घरमा सुंगुर/बंगुर पाल्ने गर्दछन् । प्रायजसो राईहरुको संस्कारमा पनि चल्ने र संगुरको मासु अत्याधिक मात्रामा मन पराउने भएकाले गर्दा राईहरु सुंगुर/बंगुर घरमै पाल्ने गर्दछन् । साम्पाङ, बान्तवा र केहि थरका राईहरुले खशी, बोका बाख्राको मासु खानु हुन्न भन्ने मान्यता पनि राखेका छन्, ब्राम्हणहरुले सुंगुरको मासु खान त के छुन पनि नहुने प्रचलन जस्तै कतै कतै राईहरुले पनि खशी, बोकाको मासु नखानेमात्र नभएर नछुने प्रचलन रहेको सुन्ने गरिन्छ । राई जातिहरु रमाइलो स्वभावको हुन्छन् । राई जातिहरु परम्पूर्वकाल देखि नाच, गान मनोरञ्जन गर्न रुचाउँछन् । नेपालमा महान चाडको रुपमा थुप्रै चाडहरु भएता पनि राईहरुले महान चाडको रुपमा आफ्नो पूर्खाहरुले मान्दै आएको चाडलाई महान चाड मान्ने गर्दछन् । राई जातिहरुको मुख्य चाडहरु उभौली, उधौली हुन् धेरैजसो राईहरुले नेपाली हिन्दूहरुको मूख्य चाड बडादशैं, तिहारलगायत पर्वहरुलाई पनि भब्य रुपमा मनाउने गर्दछन्, भने अन्य उनीहरु भित्रका धेरै चाडहरु पनि मान्ने गर्दछन् ।
उदाहरुणका लागि धनकुटा जिल्लाको अठपहरिया, बेल्हारे, खाल्सा क्षेत्र तथा सहिदभूमि गाउँपालिका साविक (खोकु, छिन्ताङ, आँखिसल्ला) का राईहरुले मंसिरे चाड मान्ने गर्दछन् जसलाई उधौली पनि भनिन्छ । खाल्सा क्षेत्रका किराँत राईहरुले वाढांमी(पापानी) लाई महान् चाडको रुपमा मान्ने गर्दछन् । वाढांमीमा हजारौ वर्ष अगाडि अदभूत शक्ति भएका बुढाहाङ्गले सृष्टि गरेका र प्रपोग गरेका चिजहरुलाई पूजा गर्ने गरिन्छ, वाढांमी चाड जम्मा ६ दिन सम्म मनाइन्छ । ६ दिन नै ढोल झ्यामटा बजाउदै ठाउँ ठाउँमा नाच्ने गाउने गरिन्छ । पहिला १५ दिन छोङला १२ दिन माङला मान्ने यो खाल्सा क्षेत्रमा अहिले भने छोङला १५ दिन नै मान्ने गरिन्छ । तर माङला ६ दिन मात्र मान्ने गरिन्छ । किनकी बाँकी ६ दिन भने असार मसान्त र साउन बीचमा पर्ने मंगलबारको दिन रुमाङ्ग सेवा गर्दा बारन बार्ने गरिन्छ । यो चाडको बेला कसैलाई पनि नराम्रो व्यवहार र नराम्रो बोल्नु, झै झगडा गर्नु हुदैन ।वाढांमीमा आफ्नो पितृ र माङहरु(देवता) संगै भएकोले त्यसो गरेमा पितृको श्राप लाग्ने गर्दछ ।
खेत–बारीमा भएका ती अन्न बालीहरु त्यो ६ दिन अथाव चाड भित्र उठाउन अर्थात पाकि सकेका बालीनालीहरुलाई भित्र्याउन हुदैन भन्ने मान्यता रहि आएको पाइन्छ । माङला सुरु भए पछि प्रयोग भएका पूजाका सामान, घरभित्र बाट निस्किएका फोहोरमैला लाई बाहिरा निकाल्नु हुन्न र फ्याक्नु हुदैन । माङला सकिए पछि मात्र बाहिरा निकाल्नु पर्ने भएकोले फोहोरमैला लाई एउटा कुनामा जम्मा गरेर राख्ने गरिन्छ । यदि माङला नसकि फ्याँकेमा अन्नको साह जाने मान्यता छ । वाढांमी (पापानी) चाड भित्र घर परिवारमा बसिरहेको कुनै पनि सदस्य प्रदेश अथाव टाढा घर आइपुग्न नसक्ने गरि बुढाहाङ्गको थलो भन्दा अन्त जान हुदैन । केहि कामले गर्दा घर बाहिर गए पनि घर फर्केर आउन पर्छ । वाढाङ्गमी चाडको बेला कोहि परिवारको सदस्य घर बहिरा छ भने घर आउन मिल्छ तर वाढाङ्गमी नसकि जान मिल्दैन । यदि वाढाङ्गमी नसकि घर बाहिरा,प्रदेश गएमा दुख बिराम हुने,चोटपटक लाग्ने र मान्छेको ज्यानै समेत जान सक्ने विश्वास रहि आएको छ ।
सातै प्रदेश र नेपालका खोटाङ, भोजपुर, ताप्लेजुङ, धनकुटालगायत अधिकाँसै जिल्लामा बहुसंख्यक जनजातिहरुको बसानेबास छ, देशको मुख्य जिम्मेवारी सम्हाल्नेदेखी सामान्य नागरिकको भूमिकामासमेत महत्वपूर्ण संख्यामा उपस्थिति रहेको जनजाति समुदायमध्येको राई जातको महत्व अझ बढी रहेको ठोकुवा गर्न सकिन्छ ।





