प्रदेश 1

निर्वाचन आचार संहिता अभिमुखीकरण कार्यक्रम सम्पत्र

४ कात्तिक, विराटनगर । राष्ट्रिय समाचार समिति(रासस)को सहकार्यमा निर्वाचन आयोगद्वारा आज यहाँ आयोजित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को सन्दर्भमा ‘प्रदेशस्तरीय सञ्चारमाध्यमसम्बन्धी अभिमुखीकरण’ कार्यक्रम सम्पत्र भएको छ ।

खासगरी सञ्चारमाध्यममा आवद्ध पत्रकारलाई दीक्षित बनाउने उद्देश्यले आयोजित एक दिने सो कार्यक्रममा ४० जना पत्रकारको सहभागिता रहेको थियो । निर्वाचन आचार संहिताका विषयमा पत्रकारलाई प्रशिक्षित गर्न आयोगका सहसचिव शालिग्राम शर्मा पौडेलले सञ्चार प्रतिष्ठान, कर्मचारी तथा पत्रकारको आचरण, आयोगको अपेक्षा तथा निष्पक्ष एवं तटस्थ, आधिकारिक सूचना एवं समाचार सम्प्रेषणका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सोही अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले निर्वाचनमा मिडिया र पत्रकारको भूमिका, निर्वाचनमा सकारात्मकरुपमा निर्वाह गर्नुपर्ने जिम्मेवारी, निर्वाचनका मुख्य पक्ष, मिडिया र पत्रकारले विर्सन नहुने विषयवस्तु, पेशागत मर्यादा, सिद्धान्तमा अडिग, आचार संहिता, स्वनीयमन आचार संहिता, नागरिकको उत्तरदायित्वजस्ता विषय समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए । अभिमुखीकरण कार्यक्रममा पत्रकार विक्रम लुँइटेल, देवनारायण साह, सत्यनारायण शर्मा, मोहम्मद सदरुल, श्यामसुन्दर सुतियार लगायतले जिज्ञासा राखको थिए ।