समाचार

सेनाले स्तरोन्नति गरेको भवन वडालाई हस्तान्तरण

२८ मंसिर, काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ काठुगणेशस्थित प्रसूति गृहको स्तरोन्नति गरेको भवन मङ्गलबार वडालाई हस्तान्तरण गरिएको छ ।
नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलको व्यवस्थापन तथा श्रमदानमा स्तरोन्नति गरेको भवनको उपत्यका पृतनापति उपरथी योगराज शर्माले उद्घाटन गरी वडालाई हस्तान्तरण गरेको हो । भवन उद्घाटन गर्दै पृतनापति शर्माले प्रसूति भवनको स्तरोन्नति गरेर उदाहरणीय काम भएको बताउनुभएको छ । “स्थानीय सरकार र समुदायले यसको आवश्यक्ताको पहिचान गरी नेपाली सेनालाई सहयोग गर्ने अवसर प्रदान गर्दै त्यसको स्तरोन्नति गर्न पाउनु ठूलो कुरा हो ।” उनले भने, “स्तरोन्नति भएपछि यहाँका वडा बासिन्दादेखि नगरपालिका र भौगोलिक विकटतामा रहेका छिमेकी पालिका खानीखोला र बेथानचोक गाउँपालिकाका बान्सिदालाई प्रसूतिसम्बन्धीको सेवा लिन सहजता हुनेमा विश्वस्त छु ।”
सेना भन्ने बित्तिकै जनमानसमा रहेको सोच सैनिक कारबाही गर्छ भन्ने बुझाइरहेकोमा त्यस्तोमात्र नभई सामाजिक कार्य गरेर नागरिक र सैनिक सम्बन्ध सुदृढ गर्नमा केन्द्रित गर्दै आएको उनले बताएयसरी स्थानीय सरकार र बान्सिदाको अनुरोधमा भएको सामाजिक कार्यले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध सुदृढ हुने बताए ।
सो क्रममा उहाँले विभिन्न गाउँपालिका र नगरपालिकामा विद्यालय भवन, मठमन्दिर निर्माण, क्रियापुत्री घर निर्माण, पानी ट्याङ्की निर्माण, गढी निर्माण र पर्यटकीयस्थलको पहिचान र सुदृढीकरणको कार्य गर्दै आएको उनले बताए । स्तरोन्नति गरेको प्रसूति गृहमा सैनिक श्रीमती सङ्घबाट आवश्यक गर्ने सामान छिट्टै उपलब्ध गराउने भएको उनले बताए।
कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले स्तरोन्नति भएको प्रसूति गृहबाट पनौतीका नागरिक मात्रै नभएर छिमेकी पालिका खानीखोला, बेथानचोक र महाभारत गाउँपालिकाबाट श्रमिकका रुपमा काम गर्दै आएर पनैतीमा बसोबास गर्ने नागरिकलाई पनि सेवा उपलब्ध गराउँदै आएको उनले बताए । काम गर्दै जाने क्रममा नगरपालिकाले चाहेर पनि सिमित स्रोतसाधन भएको कारण चाहेको जस्तो सेवा सुविधा दिन नसकेको बताए । सो क्रममा उनले नगरपालिकाको विभिन्न ठाउँमा मनोरोगसम्बन्धीको सेवाका लागि कुशादेवी र पनौतीमा शिविर सञ्चालन गरी निशुल्क औषधि वितरण गर्दै आएको बताए । स्वास्थ्य सेवालाई थप सुधार गर्नको लागि पनौतीलाई भूगोलको हिसाबले तीन क्षेत्रमा विभाजन गरी सेवा दिने काममा लागिरहेको उनको भनाइ छ । त्यस्तै लुप्त रहेको कतिपय ऐतिहासिक धरोहरहरुको उत्खनन र पहिचान गर्न नसकिरहेको अवस्थामा नेपाली सेनासँग समन्वय गरेर काम गर्न आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा पनौती नगरपालिका–७ का वडाध्यक्ष सविन ताम्राकारले पुरानो र सांसृकति सहरको रुपमा रहेको वडाको प्रसूति केन्द्रको गृहलाई स्तरोन्नति गरी पु¥याएको सहयोग अतुलनीय रहने बताए । पनौतीको केन्द्रमा रहेको प्रसूति केन्द्रलाई स्तरवृद्धि गरी दश शय्याको अस्पताल निर्माण गर्ने गरी वडा लागिपरेको उनले बताए।
वडा नं ७ मा रहेको स्वास्थ्यचौकी भवनमा स्तरोन्नतिको लागि असोज २३ गतेबाट मङ्सिर २५ गतेसम्म दुई महिना लगाएर कार्य सम्पन्न गरेर व्यवस्थित गरेको भवनमा रगत र पिसाब परीक्षण प्रयोगशाला कक्ष, परिवार नियोजन, खोप, ओपिटी, भण्डारण कक्ष र हल निर्माण गरी वडालाई हस्तान्तरण गरेको नेपाली सेना कालीजङ्ग गण धुलिखेलले जनाएको छ ।