समाचार

उपसभामुख रानाद्वारा पदबहाली

९ माघ, काठमाडौँ । नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले सिंहदरबारस्थित संसद् सचिवालय भवनमा पदबहाली गरेकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनले सिंहदरबार आएर पदबहाली गरेका हुन् । उनलाई संसद् सचिवलयका महासचिव डा भरतराज गौतम, सचिवहरू र सचिवालयका कर्मचारीले स्वागत अभिवादन गरेका थिए ।

उनी यही माघ ७ गते प्रतिनिधिसभाको बैठकमा भएको निर्वाचनबाट उपसभामुखमा चयन भएका हुन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिमरेसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित उपसभामुख रानाले पद तथा गोपनीयताको शपथ लिएकी थिईन् ।

राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको समारोहका बीच सभामुख घिमिरेसमक्ष उपसभामुख रानाले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

सभारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुखको राना शनिबार निर्वाचित भएकी थिईन् । उपसभामुख भएपछि उनी पार्टीबाट अलग भईसकेकी छन् ।