२१ फागुन, काठमाडौं । आइतबार साँझ बसेको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको १६८ औं बैठकबाट संस्थाका शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
बैठकले गत आव २०७८ र ७९ को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी एक अरब ७३ करोड ९४ लाख ४० हजारको १४.७५ प्रतिशत अर्थात २५ करोड ६५ लाख ६७ हजार ४०० बराबरको नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई वित्तीय संस्थाको आगामी पाँचौ वार्षिक साधारण सभाबाट पारित भए पश्चात् लागु हुने गरी वितरण गर्ने निर्णय भएको जानकारीको संस्थाले गराएको छ ।
एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको पाँच वर्ष पूरा गरे सँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र वित्तीय संस्था प्रतिको भरोसाले गर्दा यो वित्तीय संस्था मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखेको छ ।
यस आव २०७९र८० को दोस्रो त्रयमासको अन्त्य सम्ममा वित्तीय संस्थाले कुल दुई लाख तीन हजार ८६२ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ ।
राष्ट्रिय स्तरको अग्रणि लघुवित्त संस्थाको रुपमा छोटो अवधिमै आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखि वित्तीय सेवाको पहुच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने नीति तय गरी अघि बढिरहेको छ ।
यसका साथै, यस वित्तीय संस्थाले पछिल्लो समयमा अग्निपिडित परिवारहरुलाई खाद्यान्य तथा सामाग्री सहयोग, शितलहरबाट पिडित परिवारलाई लत्ताकपडा सहयोग, वृद्धा आश्रमलाई नगद सहयोग लगायतका विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु गरी समाजिक कार्यहरुमा समेत आफुलाई स्थापित गर्दै आएको छ ।
यसका साथै संस्थाले ग्राहक सदस्यहरुको स्थायित्व, प्रगती तथा लघुवित्त कार्यक्रमको सुधार तथा स्थायित्वको लागि शिक्षा, स्वास्थ तथा व्यवसाय प्रवर्द्धनमा नियमित रुपमा लाग्दै स्थापना देखि हाल सम्म ग्राहक संरक्षण कोषबाट रु ३ करोड भन्दा बढी खर्च गरिसकेको छ ।
“साथी संगै सबल बन्दै” भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड देशकै सबै भन्दा ठूलो शाखा संजाल र देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भईरहेको छ ।
त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्ने संस्थाले बताएको छ ।





