पु.समाचार

पूर्व परराष्ट्र मन्त्री डा. खड्का युरोप भ्रमणमा, नेपालमा पोल्यान्डको दूतावास खोल्न महत्त्वपूर्ण छलफल

२३ जेठ, वार्सा, पोल्यान्ड । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्र मन्त्री डा.नारायण खड्का सप्ताह व्यापी युरोप भ्रमणमा छन् ।

भ्रमणका क्रममा डा.खड्काले पोल्यान्डको राजधानी वार्सामा त्यहाँका राष्ट्रिय सभा(सिनेटका) अध्यक्ष डा.तोमाश ग्रोश्की सँग भेटवार्ता गरेको वार्सास्थित नेपाली वाणिज्य दूतावासले जनाएको छ ।

भेटघाटमा पोल्यान्डले नेपालमा दूतावास खोल्न चासो राखेको ‘अवैतनिक वाणिज्य दूत’ डा. बोधराज सुवेदीले जानकारी दिए । वार्तामा नेपालको कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटन क्षेत्रको विकास तथा व्यापार प्रवर्द्धन गर्ने बारे छलफल भएको छ ।

डा खड्काले अत्यन्तै घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहेको  पोल्यान्डको दूतावास नेपालमा खोल्न अध्यक्ष डा. ग्रोश्कीलाई आग्रह गरेका थिए ।  पोल्यान्डको दूतावास नेपालमा खोल्न नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वयकारी भूमिका खेल्ने सङ्घीय सांसद समेत रहेका डा खड्काले बताए ।

पोल्यान्डले १९७५ मा नेपालमा दूतावास खोलेको भए पनि  विविध कारणले गर्दा केही वर्षपछि बन्द भएको थियो । कुराकानीका क्रममा अध्यक्ष ग्रोश्कीसँगै त्यहाँको राष्ट्रिय सभाका अन्तर्राष्ट्रिय तथा युरोपियन मामिलाका निर्देशक लेशेक क्लिनेभिच तथा डा खड्कासँगै अवैतनिक वाणिज्य दूत डा.सुवेदी र एन आर एन अन्तर्राष्ट्रिय समन्वय समिति महिला सेक्रेटरी डा. एलिना पोख्रेलको सहभागिता  रहेको वाणिज्य दूतावासले जनाएको छ । डा. खड्का युरोपको विभिन्न देशको उच्चस्तरीय सप्ताह व्यापी भ्रमणपछि स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले सुर्यखबरलाई जानकारी दिएका छन् ।