समाचार

सङ्गठनको गरिमा जोगाउन महानिरीक्षक अर्यालको निर्देशन

१८ भदौ, काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले व्यक्ति स्वार्थभन्दा माथि उठेर सङ्गठनको गरिमा जोगाउने गरी काम गर्न सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई दज्र्यानी चिह्न प्रदानपछि आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित समारोहमा उनले भने, “व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सङ्गठनको गरिमा र छविलाई उच्च बनाई राख्न निःस्वार्थ भावनाका साथ अघि बढ्नुहोस् ।”

कार्यक्षेत्रमा आइपर्ने जस्तोसुकै कठिन परिस्थिति र चुनौतीको समाना गर्न सङ्गठनका राष्ट्रसेवकहरु एक ढिक्का भएर लाग्नुपर्ने उल्लेख गर्दै उनले सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकासलाई ध्यान राख्दै सङ्गठनले कदम चालिरहेको उल्लेख गरे । उनले पदोन्नतिसँगै थप भएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ र लगनशील भई त्रुटिरहित ढङ्गबाट सम्पादन गर्न पनि निर्देशन दिए । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को भदौ १३ को निर्णयले ८४ जना सशस्त्र प्रहरी निरीक्षकहरु सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा भएका थिए ।

आजको कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिति रहेको थियो । हिजो आइतबार सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा हुनुभएका अधिकृतहरुलाई दज्र्यानी चिह्न प्रदान गरेका थिए । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को भदौ १२ गतेको निर्णयले ५६ जना सशस्त्र प्रहरी नायब उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएका हुन् ।