प्रदेश 1

भोजपुरे खुकुरीको संरक्षणमा जुटेका महेन्द्र

२७ भदौ, भोजपुर । भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आउनुभएको छ । लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर यहाँले वार्षिक रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

भोजपुर नगरपालिका–५ बोखिमका विश्वकर्माले बाउबाजेले गर्दै आएको कामलाई निरन्तरता दिँदै ४० वर्षदेखि यो पेसा गर्दै आएको बताए। आफ्ना पितापुर्खाले बनाएको भोजपुरे खुकुरीको बजारमा छुट्टै पहिचान रहेकाले यसलाई बचाइराख्न आफूले पनि यो पेसालाई निरन्तरता दिएको उनको भनाइ छ ।

“पछिल्लो समयमा कालिगड पेसासँगै भोजपुरे खुकुरी लोप हुने अवस्थामा छ”, विश्वकर्माले भने, “भोजपुरे खुकुरी बनाउने हाम्रो पुख्र्यौली पेसा हो । भोजपुरे खुकुरीको मौलिकतालाई बचाउँदै पेसालाई नयाँ पुस्तासम्म पुर्याउन जुटेको छु । यही पेसाबाट राम्रै आम्दानी पनि गरिरहेको छु ।”

जिजुबाजे गोपे विश्वकर्मा, बाजे जङ्गबहादुर विश्वकर्मा र बुवा सिंहबहादुर विश्वकर्माले यही पेसा गरेर नै जीवन बिताएको उनले बताए। तत्कालिन राजा महेन्द्र शाहको सवारी हुँदा आफ्ना बुवाले मेरो सीपले बनाएको भोजपुरे खुकुरी भनेर २०१३ सालमा चढाएपछि भोजपुरे खुकुरीको पहिचान अझ चुलिएको उनको भनाइ छ । त्यो समयमा खुकुरी चढाएवापत रु एक हजार चार सय राजाबाट बक्सिससमेत पाएको विश्वकर्माले सुनाए ।

“भोजपुरे खुकुरी बनाउनेमा धेरै वर्षदेखि हाम्रा बाउबाजेको छुट्टै पहिचान छ”, उनले भने, “मैले त्यहि पेसालाई निरन्तरता दिँदै भोजपुरे खुकुरी बनाउँदै आएको छु । विगतमा पाएको ख्यातिमा आँच आउन नदिन परम्परागत औजार उपकरणको प्रयोग गरेर नै खुकुरी बनाउँछु । बजारमा पुरानोशैलीबाट बनाइएका खुकुरी पाउन मुस्किल छ ।”

‘महेन्द्र खुकुरी उद्योग’ दर्ता गरेर कालिगड पेसागर्दै आएका विश्वकर्माले आफुले बनाएको खुकुरी रु एक हजार पाँच सयदेखी रु ३० हजारसम्ममा बिक्री गर्दै आएको बताए। यहाँ निर्माण भएका खुकुरी स्थानीय बजारसँगै जापान, अमेरिका, बेलायतलगायत देशमा उपहारको रुपमा जाने गरेको बताए। आफुले सिरुपाते, कोथीमोडा, बाँसपाते, बुदुना र तीनपाटा आकारका भोजपुरे खुकुरीसँगै मागका आधारमा तरवार, कट्टीलगायत सामग्री निर्माण गर्ने गरेको उनले जानकारी दिए।

अठार वर्ष नेपाली सेनामा जागिर खाएर आएपछि विश्वकर्माले पुनः छोराहरुसहित यो पेसालाई निरन्तरता दिएको बताए। “भोजपुरको पहिचान झल्कने विभिन्न आकारका खुकुरी निर्माण गर्दै आएको छु”, उनले भने, “गुणस्तरका कारण बाहिर पसलमा पाउनेभन्दा मैले बनाएका खुकुरी महङ्गा छन् । अन्य बजारमा पाइने खुकुरीको तुलनामा गुणस्तर फरक हुन्छ । पहिलो पटक किन्ने मान्छेलाई पहिचान गर्न समय लाग्छ ।”

कालिगड विश्वकर्माका दुई छोराले पनि यही पेसा गर्दै आएका छन् । बजारको अझ राम्रो व्यवस्थापन हुनसके वार्षिक रु २० लाखसम्म आम्दानी लिन सकिने छोरा ज्ञानेन्द्रले बताए। गाउँमा रहेको उद्योगबाट सिधैँ बाह्य बजारमा पठाउन सक्ने वातावरण भए राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । पुख्र्यौली कामलाई निरन्तरता दिँदै भावी पुस्तासम्म पुर्याउने लक्ष्यले स्नातक तह पढेर पनि कालिगड पेसा गर्दै आएको ज्ञानेन्द्रको भनाइ छ । मेहनत गरेर लाग्न सके विदेशमा हुने कमाइ यही गर्न सकिने उनी बताउँछन्।

“यो पेसामा युवापुस्ताको रुचि कम हुँदै गएको अवस्था छ”, उनले भने, “हाम्रो गाउँमा विगतमा १० परिवार कालिगड रहेकामा अहिले हामीले मात्र गर्दै आएका छौँ । यसलाई बचाउनुपर्छ भन्ने लागेर नै अन्य काममा नलागेर कालिगड पेसा गर्दै आएको छु । यसबाट आम्दानी पनि राम्रै छ ।”

खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालिगड पाउन समस्या छ । खुकुरी बनाउने पेसालाई अपहेलनाका रूपमा हेरिने गरिएका कारण पनि यो पेसा सङ्कटमा पर्ने अवस्था छ । व्यवसाय सञ्चालनका लागि कच्चा पदार्थसँगै गुणस्तरीय फलामको अभाव छ । राज्यले यस्ता उद्योगको सहज सञ्चालनका लागि आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ छ ।