२७ असोज, काठमाडौँ । मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक निकायमा पुगेका सांसद जनताका आवाज सम्बोधन गर्न तथा कानुनी शासनको पालनातर्फ उन्मुख हुुनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेत बताउँछन् । संसद्को गरिमा जोगाउन सांसद सधैँ तत्पर रहनुपर्ने उनको भनाइ छ ।
सांसदसँग रासस संवादमा सांसद बस्नेतले गरिमामय संसद्मा आइसकेपछि देश र जनताका पक्षमा सबै सांसद एकजुट हुनुको अर्को विकल्प नरहेको जिकिर गरे। सांसद बस्नेतले भने– “पार्टीअनुसार सांसदका विचार फरक फरक होलान् । चुनावका बेला झण्डा फरक फहराए होलान् । तर गरिमामय संसद्मा गइसकेपछि नितान्त राष्ट्र र राष्ट्रियताको पक्षमा आवाज बुलन्द गर्नुपर्छ । कानुन निर्माण गर्ने ठाउँमा सांसद बाझिरहनु राम्रो हुदैँन । यसमा सबै सांसद सजग हुनुपर्छ ।”
जनताका अपेक्षा अनुरुप संसदीय अभ्यास नभएको सांसद बस्नेतको ठहर छ । “संसद्मा जुन आशा राखेर हामी प्रवेश गरेका थियौँ । सोअनुरुप पाइएको छैन । हामीले उठाएका जनताका आवाजलाई सरकारले सुनेको छैन । फरक विचारको प्रतिनिधित्व हुन सकेको छैन । कुनै समय त सरकार छ कि छैनरु भन्ने लाग्छ”, सांसद बस्नेतले भने । संसदीय अभ्यासलाई सफल बनाउन सानादेखि ठूला दलको उत्तिकै महत्व रहने हुनाले सबै सांसद राजनीतिक स्वार्थबाट बाहिर निस्केर मुलुकको समृद्धितर्फ एकजुट हुनुपर्ने उनको भनाइ छ ।
पञ्चायतकालदेखि नै राजनीतिमा प्रवेश गर्नुभएकी सांसद बस्नेत भेरी अञ्चल महिला संगठनको सचिव भए। विसं २०५४ र २०७४ मा गरी दुईपटक उहाँ गुलरिया नगरपालिका–७ को वडाध्यक्षमा निर्वाचित भए। विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध रहँदै आउनुभएकी सांसद बस्नेतले सदनमा पेश हुने विधेयकमाथि बृहत् छलफल हुनुपर्नेमा जोड दिए।
“सदनमा पेश हुने विधेयक सरकारको मात्र होइन । देशको विधेयक हो । जनतालाई सडकमा ल्याउने वातावरण सिर्जना गर्नुहुँदैन । देश र जनताको हित अनुकूल कानुन ल्याउन बृहत् छलफलको अभ्यास हुनुपर्छ”, उनले भने। उनले आफ्नो पार्टी भ्रष्टचारविरुद्ध, विधिको शासनको कार्यान्वयनमा आधारित रहेको तर कतिपय विषय सदनमा बोल्न नपाएको गुनासो गरे । मुलुकको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात् गरी एकता कायम गर्न, समाजिक सद्भावको संरक्षण र प्रवद्र्धन गर्न सबै ऐक्यबद्ध हुन आवश्यक रहेको उल्लेख गर्दै उनले केही दिनयता देशमा फैलिएको अराजकतालाई निर्मूल पार्न सबै मिल्नुको अर्को विकल्प नरहेको उल्लेख गरे।
पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएकी सांसद बस्नेतले जनताले राम्रो कानुन बनाउन, हिजोका त्रुटिलाई सच्याउन, सबै वर्ग, समुदाय लक्षित कानुन बन्ने अपेक्षा गरेका छन् तर सोहीअनुरुप हुन नसकेको जिकिर गरे। सांसद बस्नेत सरकारप्रति सन्तुष्ट रहने अवस्था नरहेको बताउँछन्।
“कानुनतः विधिको शासन कार्यान्वयन भएको देखिँदैन । हत्या हिंसा, घाइते, लुटपाटका घटना भइरहेका छन् । धर्म संस्कृतिका नाममा अराजकता फैलिएको छ । मुलुकमा शान्ति, सुशासन कायम गर्न सरकार चुकेको छ”, सांसद बस्नेतले भने।





