समाचार

शान्ति समाजको देशव्यापी अभियान आरम्भ

१७ साउन, काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले विकासको अधिकारमा केन्द्रित रही देशव्यापी अभियान आरम्भ गरेको छ ।

अभियान आरम्भका अवसरमा विकासको अधिकार आधारभूत मानव अधिकार हुनाका साथै लोकतन्त्र र शान्तिसँग सम्बन्धित रहेकाले यो अभियान आवश्यक रहेको नागरिक अगुवा डा देवेन्द्रराज पाण्डेले बताए । काठमाडौँ महानगरपालिका–८ वाग्मतीनगरस्थित शान्ति समाज केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै नागरिक स्वाभिमानका लागि यो अभियान आवश्यक रहेको उनले बताए। विकाससँगै जोडिएको प्रसङ्ग उल्लेख गर्दै शान्ति समाजले विकासको अधिकारमा केन्द्रित रही थालेको देशव्यापी अभियानको नागरिक अगुवा पाण्डेले सफलताको कामना गरेका थिए ।

शान्ति समाजका सभापति रामकृष्ण बरालले यो अभियानलाई निरन्तर अघि बढाइने प्रतिबद्धता जनाए । कार्यक्रममा समाजका पूर्वसभापति तथा सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापतिहरु होमकान्त चौलागाई र डा गङ्गाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेललगायतले विकासको अभियान सात सय ५३ वटै स्थानीय तहमा लैजानुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा विभिन्न तहको जनप्रतिनिधिको पनि सहमभागिता रहेको थियो ।

यसैबीच, ‘विकासको अधिकार अहरणीय अधिकार’ भन्ने मूल नारासहित शान्ति समाजले देशव्यापी अभियान प्रारम्भ गरेको छ । यही मूल नारामा केन्द्रित रही २०८१ मा शान्ति समाजको जिल्ला साधारणसभा हुने जानकारी गराइएको थियो । यस क्रममा साउन १२ गते काठमाडौँ शाखाको साधारणसभा सम्पन्न भइसकेकोे शान्ति समाजले जनाएको छ ।

विकासको अधिकारअन्तर्गत शान्ति समाजले पहिलो चरणमा कर्णालीको उत्थान र विकासमा योगदान गर्न र हुलाकी मार्ग शीघ्र सम्पन्न गर्न ध्यानाकषर्ण गराउँदै आएको शान्ति समाजले जनाएको छ ।