५ कात्तिक, किएभ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिन सोमबार किएभ आइपुगेका छन् । यो भ्रमण रुससँगको युद्धमा युक्रेनका लागि महत्त्वपूर्ण क्षण र अमेरिकी चुनावअघिको केही हप्तामा समर्थनको प्रदर्शन हो ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पश्चिमी सहयोगीहरूलाई लामो दूरीका हतियारहरूको प्रयोगमा प्रतिबन्ध हटाउन र नाटोमा तत्काल सामेल हुन निमन्त्रणाका लागि दबाब दिइरहको बेला अस्टिन किएभ आइपुग्को हो ।
तथापि युक्रेनलाई अर्को महिना डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा निर्वाचित भए अमेरिकी सैन्य समर्थन घट्ने सम्भावनाको डर छ ।
“म रक्षामन्त्रीका रूपमा चौथो पटक युक्रेनमा फर्केको छु”, किएभ रेलवे स्टेसनमा आफ्नो तस्बिर पोस्ट गर्दै अस्टिनले सामाजिक सञ्जाल एक्समा लेखे, “मेरो पूर्व घोषणा नगरिएको भ्रमणले संयुक्त राज्य अमेरिका, अन्तर्राष्ट्रिय समुदायसँगै निरन्तर युक्रेनको साथमा रहेको देखाउँछ ।”
अस्टिनले युक्रेनी नेताहरूसँग भेट गर्नुहुने अमेरिकी रक्षा मन्त्रालयले बताएको छ । “युद्ध क्षेत्रमा रुसी आक्रमणबाट आफ्नो रक्षा गर्न आवश्यक सुरक्षा सहायता युक्रेनलाई प्रदान गर्ने अमेरिकी प्रतिबद्धतालाई अस्टिनले रेखाङ्कित गर्नुहुनेछ”, मन्त्रालयले भनेको छ । मन्त्रालयका अनुसार अस्टिनले सम्बोधनसमेत गनेछन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार जर्मनी, फ्रान्स र बेलायतका नेताहरूसँगै युक्रेनलाई समर्थन जारी राख्ने प्रतिज्ञा गर्दै ‘रुसको निरन्तर आक्रामक युद्धको’ निन्दा गरे ।
युक्रेनी राष्ट्रपति कार्यालयका एक उच्च अधिकारीका अनुसार अस्टिनको भ्रमण सम्भवतः गत हप्ता जेलेन्स्कीले सहयोगीहरूसामु प्रस्तुत गरेको तथाकथित ‘विजय योजना’ मा केन्द्रित हुनेछ ।
“विशेषगरी उत्तर कोरियाका सन्दर्भमा हामीले युक्रेनका लागि सैन्य समर्थन बलियो बनाउनु आवश्यक छ भन्नेबारे थप दृढता र बुझाइ हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ”, नाम उल्लेख नगरी ती अधिकारीले भने ।
सोलको गुप्तचर निकायका अनुसार करिब एक हजार पाँच सय उत्तर कोरियाली विशेष बलका सैनिकहरू पहिले नै रुसमा पुगेर अभ्यस्त हुँदैछन् र मोर्चामा जाने सम्भावना छ । साथै थप सैनिकहरू चाँडै प्रस्थान गर्ने तयारी छ ।
रुसले युक्रेनमा थप हवाई बमबारी गरेको छ । जापोरिझ्झिया क्षेत्रका गभर्नरले कम्तीमा एक जनाको मृत्यु भएको र १४ जना घाइते भएको बताए । आक्रमणमा एउटा बाल विद्यालयमा क्षति पुगेको थियो ।
“जापोरिझ्झियामा भग्नावशेषबाट एक व्यक्तिको शव निकालिएको छ”, ३० वटा भवन क्षतिग्रस्त भएको उल्लेख गर्दै गभर्नर इभान फेडोरोभले सामाजिक सञ्जालमा भने ।
क्रेमलिनले सन् २०२२ मा अन्य तीनसँगै यो दक्षिणी अग्रपङ्क्ति क्षेत्रलाई पनि आफूमा गाभेको दाबी गरेको थियो । यद्यपि त्यो क्षेत्रमाथि पूर्ण सैन्य नियन्त्रण नभएको अवस्था छ ।





