२८ कात्तिक, अफगानिस्तान । अफगानिस्तानमा सन् २०२१ पछि छैटौँ पटक सार्वजनिकस्थलमा मृत्युदण्ड दिइएको छ ।
अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको रङ्गशालामा तालिबान प्रशासनले बुधबार एक दोषी ठहर गरिएका हत्यारालाई गोली हानेर मृत्युदण्ड दिएको हो ।
घटनास्थलमा रहेका एएफपीका एक पत्रकारका अनुसार पक्तिया प्रान्तको राजधानी गार्डेजमा हजारौं दर्शकको अगाडि पीडित परिवारका एक सदस्यले ती व्यक्तिको छातीमा तीन वटा गोली प्रहार गरेका थिए ।
मृत्युदण्ड दिनुभन्दा अघिल्लो साँझ गभर्नरको कार्यालयले अधिकारीहरू र बासिन्दाहरूलाई सामाजिक सञ्जालमा ‘यस कार्यक्रममा उपस्थित हुन’ आह्वान गरेको थियो ।
अफगानिस्तानको सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा एक हत्यारालाई प्रतिशोधात्मक सजाय सुनाइएको जनाएको छ ।
मृत्युदण्डको आदेशमा तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले हस्ताक्षर गरेका छन्।
तालिबान सत्तामा आउनुअघि देखि नै हबिबुल्लाह सैफ उल कातल नामका एक व्यक्तिको हत्या गरेको अभियोगमा उनी हिरासतमा रहेका थिए भने तीनवटा सैन्य अदालतले यस मुद्दाको ‘निकै सटिक र पटक–पटक अनुसन्धान’ गरेका थिए ।
बयानमा भनिएको छ, “पीडित परिवारलाई मृत्युदण्डमा रोक लगाउने मौका दिइएको थियो, तर उनीहरूले अस्वीकार गरेका थिए।”
मृत्युदण्डदिने क्रममा गृहमन्त्री सिराजुद्दीन हक्कानीलगायत उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति रहेको थियो ।





