अन्तर्राष्ट्रिय

‘कूटनीतिक समाधानमा पुग्ने’ प्रयासमा राष्ट्रसङ्घका आणविक प्रमुख इरानमा

२९ कात्तिक, तेहरान । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुभन्दा केही हप्ताअघि तेहरानमा आणविक वार्ता सुरु गरेका बेला अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीले बिहीबार इरानका उच्च कूटनीतिज्ञसँग भेटवार्ता गरेका छन्।

सन् २०१७ देखि २०२१ सम्म ह्वाइट हाउसमा आफ्नो पहिलो कार्यकालको दौडान ट्रम्पले ‘अधिकतम दबाब’ नामक नीतिको अख्तियारी गरेका थिए । उक्त कदमले सन् २०१५ को ऐतिहासिक आणविक सम्झौताअन्तर्गत हटाइएका अमेरिकी आर्थिक प्रतिबन्धहरूलाई पुनः लागू गरेको थियो ।

बुधबार राति तेहरान आइपुगेका ग्रोसीले देशका शीर्ष आणविक तथा राजनीतिक अधिकारीहरूसँग वार्ता गर्ने अपेक्षा गरिएको इरानको सरकारी समाचार संस्था इरनाले जनाएको छ ।

ग्रोसीले सन् २०१५ को सम्झौतामा इरानका प्रमुख वार्ताकार तथा वर्तमान् विदेशमन्त्री अब्बास अरागचीसँगको भेटलाई ‘अपरिहार्य’ भनेका छन्।

ग्रोसीले इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीसँग पनि भेट गरेको तस्नीम समाचार संस्थाले जनाएको छ ।

यसपछि आईएईए प्रमुखले राष्ट्रपति मसूद पेजेस्कियानसँग यस वर्षको सुरुमा निर्वाचित भएपछि पहिलो वार्ताका लागि भेट्ने अपेक्षा गरिएको छ ।

तेहरानका लागि ग्रोसीको यो भ्रमण यो वर्ष दोस्रो हो तर ट्रम्प पुनः निर्वाचित भएपछिको पहिलो हो ।