अन्तर्राष्ट्रिय

बेरुतमा इजरायली हमलामा हिजबुल्लाहका प्रवक्ताको मृत्यु

२ मङ्सिर, बेरुत । सिरियाली बाथ पार्टीको लेबनानी शाखामा आइतबार मध्य बेरुतमा भएको इजरायली हमलामा हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिएको लेबनानी सुरक्षा स्रोतले जनाएको छ ।

“रास अल–नबामा भएको आक्रमणमा हिजबुल्लाह मिडिया सम्बन्ध अधिकारी मोहम्मद अफिफको मृत्यु भएको छ”, सुरक्षा स्रोतले नाम नछाप्न अनुरोध गर्दै भन्यो ।

बाथ पार्टीको लेबनानी शाखाका महासचिव अली हिजाजीले ‘हिजबुल्लाह मिडिया अधिकारी अफिफको मृत्यु भएको पुष्टि गर्नुभएको’ आधिकारिक राष्ट्रिय समाचार एजेन्सी एनएनएले जनाएको छ ।

इजरायली सेनाले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा एक जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको उल्लेख गर्दै मृतकको सङ्ख्या अस्थायी रहेको र आक्रमण स्थलबाट भग्नावशेष हटाउने काम जारी रहेको बताएको छ ।

अफिफले वर्षौंदेखि हिजबुल्लाहको मिडिया सम्बन्धको जिम्मेवारी सम्हालेका थिए र अज्ञातताको आडमा स्थानीय र विदेशी पत्रकारहरूलाई जानकारी प्रदान गर्दै आएका थिए ।

फ्रान्सेली दूतावास र विश्वविद्यालय नजिकैको रास अल–नबामा ‘भग्नावशेषमुनि फसेका’ अनिर्दिष्ट सङ्ख्यामा मानिसहरू रहेको रिपोर्ट गर्दै एनएनएले ‘शत्रु विमान’ ले गरेको आक्रमणले ‘ठूलो विनाश’ गरेको जनाएको छ ।

एनएनएले भनेको छ, “छिमेकी भवनका एक बासिन्दाले खाली गर्न चेतावनी कल पाएका थिए तर त्यसलाई गम्भीरतापूर्वक लिइएन ।”

सेप्टेम्बरको अन्त्यमा लामो समयदेखि हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको ठूलो इजरायली हमलामा हत्या भएपछि अफिफले बेरुतको दक्षिणी उपनगरहरूमा धेरै पत्रकार सम्मेलनहरू गरेका थिए ।

गत महिना यस्तै एउटा घटनामा अफिफले हिजबुल्लाहले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निवासलाई निशाना बनाएर ड्रोन प्रहार गरेको घोषणा गरेका थिए ।

इजरायली सेनाले नजिकैको भवनमा आक्रमण गर्ने चेतावनी दिएपछि त्यो पत्रकार सम्मेलन त्यतिबेला रोकिएको थियो ।