अन्तर्राष्ट्रिय

गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’

४ पुस, न्यूयोर्क । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा इजरायल र हमासबीच युद्धविराम हुनेमा आफू आशावादी रहेको बताएको छन् ।

विदेशमन्त्री ब्लिन्केनले प्यालेस्टिनी भूमिमा १४ महिनादेखि जारी क्रूर युद्ध अन्त्य गर्ने आफ्नो सरकारको पटक–पटक प्रयास विफल भएको भन्दै युद्धविरामले गमजामा स्थायी शान्तिको वातावरण बनाउनेमा भने उनी विश्वस्त देखिएनन् ।

जनवरी २० मा कार्यकाल पूरा हुने ब्लिन्केनले भने, “हेर्नुु्, म आशावादी छु । तपाई पनि हुन पर्छ ।” उनले भने, “हामीले जिम्मेवारीबाट विदा लिनुअघि युद्धविरामका लागि प्रत्येक हप्ताको हरेक दिनको पलपल प्रयोग गर्नेछौँ ।”

वैदेशिक सम्बन्ध परिषद्को बैठकमा उन भने, “हामीले युद्धविरामको सम्भावना के हो भनेर अनुमान लगाउनु गलत हुनेछ।”

उनले युद्धविराम सम्झौताअन्तर्गत केही बन्धकहरूलाई मुक्त गरिएको तर्फ सङ्केत गर्दै भने, “युद्ध विराम हुनुपर्छ । यो हुन आवश्यक छ । हामीले बन्धकलाई घर फर्काउनु आवश्यक छ ।”

युद्ध सुरु भएयता मध्यपूर्वको १२औँ भ्रमणका क्रममा गत हप्ता गरेको मूल्याङ्कन दोहो¥याउँदै हमासले आफ्नो संरक्षक इरानलाई भएको क्षतिका कारण थप लचकता देखाएको ब्लिन्केनले बताए ।

ब्लिन्केनले गाजामा दीर्घकालीन उपस्थितिको समर्थन गर्ने इजरायली नेतृत्वको भनाइलाई अस्वीकार गर्दै युद्धको अन्त्य इजरायलको हितमा छ र युद्धपछि सम्झौता हुनु आवश्यक छ भन्ने आफ्नो अडान दोहोर्‍याए।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको छन् ।

सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको अभूतपूर्व आक्रमणका कारण एक हजार २०८ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश सर्वसाधारण थिए ।