समाचार

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति पौडेल

१६ पुस, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमको सम्मान गर्दै आर्थिक एवं भौतिक विकासको माध्यमबाट देशलाई समृद्धिको मार्गमा अग्रसर गराउनु आजको आवश्कता भएको बताएका छन्।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आज यहाँ आयोजना गरेको श्रम संसद्मा उनले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक प्रगति मात्र नभइ यससँग मानवीय पक्ष पनि हो भने। आफूले राजनीतिक जीवनमा देशको सामाजिक एवं आर्थिक रुपान्तरणका लागि किसान र श्रमिकलाई साथमा लिएर काम गरेको स्मरण गरे ।

“निमुखालाई न्याय अनि विपन्नलाई आय र श्रमको सम्मान गर्ने संस्कृति नै यो देशको विकासको आधार हो भन्ने विषयलाई मैले सदैव जोड दिँदै आएको छु, सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि हामीले यही अवधारणाको जगमा खोज्नुपर्दछ”, राष्ट्रपति पौडेलले भने ।

नेपालका श्रमजीवीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सराहनीय रहेको र सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, सङ्गठन गर्न पाउने स्वतन्त्रता, सामूहिक सौदाबाजी र योगदानमा आधारित सामाजिक सुरक्षालाई मौलिक हकका रुपमा समावेश गरिएको उनले बताए ।

“देशमा सबैभन्दा ठूलो श्रमिकहरूको सङ्ख्या कृषि क्षेत्रमा रहेकाले मैले ‘व्यावसायिक कृषि कार्यक्रम’ र कृषि क्रान्तिको कुरा श्रमिकको जीवनमा क्रान्ति ल्याउनकै लागि गरेको हुँ”, उनले भने । राष्ट्रपति पौडेलले प्रकृतिको दोहन र मानवीयताप्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेकामा चिन्ता व्यक्त गरे । उनले जलवायु परिवर्तनको असरबाट महिला श्रमिकहरू बढी प्रभावित भएका बताए ।