समाचार

बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

१६ पुस, बुटवल । खानेपानीमन्त्री प्रदीप यादवले बुटवलको झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण गरी बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मन्त्री यादवले भने, “झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण गरी यहाँका नागरिकलाई शुद्ध पानी उपलब्ध गराउने सरकारको लक्ष्य छ । सोहीअनुसार काम भइरहेको छ । बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।”

झुम्साबाट तीन करोड २० लाख लिटर पानी थप गरी करिब तीन लाख जनसङ्ख्या लाभान्वित हुनेगरी दैनिक करिब पाँच करोड ९० लाख लिटर पानी उत्पादन तथा वितरण गर्ने लक्ष्य राखिएको सो कार्यक्रममा मन्त्री यादवले जानकारी दिए ।

करिब रू छ अर्बको लगानीमा झुम्सा खानेपानी आयोजना सुरू भएको झण्डै तीन दशक पुग्न लागेको बताइएको छ । विसं २०५२र०५३ मा पाल्पाको सिस्ने खोलाबाट बुटवलमा पानी ल्याउने योजनासहित झुम्सा खानेपानी आयोजना सुरू भएको नेपाल खानेपानी संस्थानले जनाएको छ ।

सुरूमा केही वर्षको प्रयासका बाबजुत आयोजना असफल भएपछि फेरि विसं २०६४ मा झुम्साभन्दा परबाट खानेपानी ल्याउने भन्दै काम सुरू गरिएको नेपाल खानेपानी संस्थानका निमित्त महाप्रबन्धक त्रिदीपकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “सो अवधिमा खानेपानीको मुहानमा निर्माण गरेको ट्याङ्की नै खोलाले बगाएपछि समस्या भयो । पछिल्लो समय विसं २०७७ मा शिलान्यास गरेको झुस्सा खोलाको काम अहिले सुचारू अवस्थामा रहेको छ ।”

झुम्सा खोलामा बाँध निर्माण गरी ट्रष्ट पुल बनाउने र पाइप बिछ्याएर पानी ल्याउने तथा दोस्रो चरणअन्तर्गत बुटवल–३ स्थित रामफेदीमा पानी प्रशोधन प्लान्ट बनाउने र भण्डारण ट्याङ्की बनाएर पानी वितरण गरिने खानेपानी संस्थानले जनाएको छ ।