समाचार

प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

११ माघ, काठमाडौैँ । प्रधान सेनापति अशोकराज सिग्देलले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको आज निरीक्षण गरेका छन् । सो क्रममा उनले तालिम केन्द्रलगायत विभिन्न मिसनमा जाने ‘युनिट’हरूको वस्तुस्थिति बारेमा जानकारी लिई आवश्यक निर्देशन दिएका छन् ।

उक्त अवसरमा प्रधान सेनापतिले संयुक्त राष्ट्रसङ्घको आह्वानमा निकट भविष्यमा सेन्ट्रल अफ्रिकन रिपब्लिकस्थित मिसनमा खटिई जाने रिपुमर्दन गण शान्ति सेना सातौँ डफ्फा र लेबनानस्थित मिसनमा खटिइ जाने सवुज गण ६६औँ डफ्फाको पूर्वाभ्यास तालिमलाई सम्बोधन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेन्ट्रल अफ्रिकन रिपब्लिक मिसनका लागि छ सय जना र लेबनानस्थित मिसनका लागि आठ सय ५० जना सकलदर्जाले सो तालिम लिएका छन् ।