समाचार

महाशिवरात्रिका अवसरमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सांसदहरुको माग

१३ फागुन, काठमाडौं । महाशिवरात्रि पर्वको बेला पशुपतिनाथलगायत देशभरका मन्दिर क्षेत्रमा सडक तथा पैदलयात्रीको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सांसदहरुले माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले सडक सुरक्षा चुस्त बनाउन सरकारको ध्यानाकर्षण गराए । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले शिवरात्रिको समयमा पशुपतिनाथ दर्शनका लागि अघिल्लो वर्षभन्दा धेरै दर्शनार्थी आउने आङ्कलन गरिएकाले सुरक्षा व्यवस्थामा विशेष ध्यान पु¥याउन आग्रह गरे । उनले काठमाडौँ उपत्यका जोड्ने सडक सञ्जाल बिग्रेको अवस्थामा रहेको उल्लेख गर्दै सक्दो चाँडो ती सडक मर्मतसम्भार गर्न आग्रह गरे । सांसद चौधरीले नेपाल वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को खैरो सूचीमा परेकाले यसबाट चाँडै बाहिर निस्कने कार्ययोजना बनाउन पनि आग्रह गरे।

बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले कैलालीमा रहेको घोडाघोडी ताल र मन्दिर संरक्षणका लागि पहल गर्न संसद्मार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए । जैविक विविधताका दृष्टिले समेत यो ताल महत्वपूर्ण रहेकाले संरक्षणका लागि बजेट व्यवस्थापन गर्न उहाँले सरकारसँग माग गरे।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सहकारी क्षेत्रको नियमनमा चुक्दा नेपाल एफटिएफको खैरो सूचीमा परेको बताए । त्यस्तै, वैदेशिक व्यापार घाटा बढेको, सार्वजनिक ऋण रु २६ खर्ब नाघेकोलगायत विषय पनि उनले संसद्मा उठाए । विद्यालय र विश्वविद्यालय शिक्षालाई निःशुल्क गरिनुपर्ने सांसद सुवालले सुझाव दिए। काठमाडौँ उपत्यकाको प्रदूषण बढेकाले मुटु, श्वासप्रश्वास तथा छालासम्बन्धी रोगको जोखिम बढेको उनको भनाइ थियो ।

सांसद जावेदा खातुन जागाले विद्यार्थी प्रकृति लम्सालको मृत्युका बारेमा वास्तविकता पत्ता लगाउन तथा उनी अध्ययनरत कलेजका विद्यार्थीको सुरक्षाको माग गरिन् । यस विषयमा परराष्ट्र मन्त्रालयमार्फत पहल गरिनुपर्ने उनको भनाइ थियो ।