समाचार

अमेरिका र युक्रेन वार्ता विवादमा महासचिव पोखरेल भन्छन्: एसियाली राष्ट्रहरूले सचेत बन्नु आवश्यक

१७ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव  शङ्कर पोखरेलले अमेरिका र युक्रेनबिच अमेरिकामा भएको वार्ताले धेरैलाई पाठ सिकाएको प्रतिक्रिया दिएका छन् । उनले हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितको लागी छिमेकीसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकबाट प्रतिक्रिया दिँदै पोखरेलले ‘छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठुला र शक्तिशाली देशहरूले पनि दुःख पाउनु पर्दोरहेछ’ भन्दै छिमेकी विरुद्ध बाहिरबाट आएको सहयोग  कतिपय अर्थमा स्वार्थ आधारित हुने बताएका हुन् ।

महासचिव पोखरेलले रुस र युक्रेन दुबैका लागी युद्ध घाँडो भएको टिप्पणी समेत गरेका  छन् । युद्ध अन्त्यको लागि दुवै देशले ठुलो मूल्य चुकाउनु पर्ने उनको भनाई छ ।

हेर्नुहोस् महासचिव पोखरेलको स्टाटस :

‘अमेरिका र युक्रेनबिच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको छ । हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नु पर्दछ । छिमेकीसँगको सम्बन्ध बिग्रँदा ठुला र शक्तिशाली देशहरूले पनि दुःख पाउनु पर्दो रहेछ । छिमेकका विरुद्ध बाहिरबाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुँदो रहेछ।

आज रुस र युक्रेन दुबैका लागि युद्ध घाँडो भएको छ । तर युद्ध अन्त्यका लागि उनीहरूले निकै ठुलो मूल्य चुकाउनु पर्ने अवस्था देखिँदै छ ।

शान्ति र स्थायित्वका लागि अव हरेक देशले सोच्नु पर्दछ, क्षेत्रीय शान्ति विना विश्व शान्ति सम्भव हुँदैन । त्यसमाथि एसियाली देशहरूले आपसी सम्बन्धको विकासमा जोड दिने हो भने एसिया विश्व सभ्यताको केन्द्रका रूपमा पुनः स्थापित हुने अवस्था छ ।

अमेरिकाको पछिल्लो रणनीतिले अबको एसिया नै भूराजनीतिको द्वन्द्वको केन्द्र बन्न सक्ने सङ्केत गर्दछ । गाजा क्षेत्र प्यालेस्टानीहरुबाट खोस्ने योजनाले त्यसकै सङ्केत गर्दछ । साथै रुस र युक्रेनबिचको युद्ध अन्त्यको नाममा भएको अमेरिकी प्रयास विश्वशान्तिको उद्देश्यसंग जोडिएको देखिएन । त्यसको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय बन्न पुगेको छ । यस प्रकारको स्वार्थपरक नीतिले अन्ततः आर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भूराजनीतिक द्वन्द्वको विकास गर्नेछ । यस प्रकारको परिस्थितिबाट एसियाली राष्ट्रहरू विशेष ढङ्गले सचेत बन्नु आवश्यक छ’