१८ फागुन, काठमाडौँ । सरकारका गृहमन्त्री रमेश लेखकले ‘नो केबलकार’ समूहलाई वार्तामा आउन आग्रह गरेका छन्। आज राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले ताप्लेजुङको पाथीभरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको विरोधमा उत्रिएको उक्त समूहलाई वार्तामा आउन आह्वान गरेका हुन्।
गृहमन्त्री मन्त्री लेखकले ‘नो केबलकार’ समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको बताएका छन्। उनले केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताउँदै जनतालाई अनुभूत हुने गरी देशमा शान्ति सुव्यवस्था कायम गर्न सरकार गम्भीर रहेको जानकारी दिए।
सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने उनको भनाइ छ।





