समाचार

सत्तापक्ष बैठक : भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर नयाँ विधेयक ल्याउने सहमति

१३ चैत, काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्षको बैठकले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर नयाँ विधेयक ल्याउने निर्णय गरेको छ । 

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सहित सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा विधेयक ल्याउने सहमति जुटेको हो। बैठकमा भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सहमति भएको बताइएको हो। 

सरकारले गत पुस २९ गते पाँच वटा अध्यादेश ल्याएको थियो । यद्यपि, भूमि सम्बन्धी अध्यादेश माघ २ गते मात्रै जारी भएको थियो । त्यसअगाडि १४ पुसमा सहकारी सम्बन्धी अध्यादेश ल्याएको थियो ।

सत्तापक्षको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू सहभागी थिए ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई लगायतका नेताहरू उपस्थित थिए।