१४ चैत, काठमाडौँ । ललितपुरको इमाडोलमा खुकुरी प्रहरबाट एक जनाको हत्या भएको छ। महालक्ष्मी नगरपालिका–४ इमाडोल ओचुहाइट बस्दै आएका ३० वर्षीय रिपक खातीको धारिलो हतियार प्रहारबाट हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
राति पौने १ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले खुकुरीले घाँटीमा प्रहार गरेर खातीको हत्या गरेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको थियो। घटना लगत्तै पुगेको प्रहरीले रसाइलीलाई खुकुरीसहित पक्राउ गरेको छ।खातीले आफ्नी बहिनीलाई जिस्काएको र दुख दिएकोले हत्या गरेको रसाइलीले बताएको प्रहरीको भनाइ छ।
हत्या भएका खाती र हत्या आरोपी रसाइली दुवै रामेछापका हुन्। मृतकको घाँटीको दुवै भाग र गालामा खुकुरीको चोट देखिएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।





