१७ चैत, काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा सांसद धवल शमशेर जबरालाई फौजदारी अभियोगमा अनुसन्धान हुने भएको छ। उनलाई प्रहरीले गत शुक्रवार तीनकुनेको घटना पछि पक्राउ गरेको थियो।
नेपाल प्रहरीले सभामुख देवराज घिमिरे र सङ्घीय संसद् सचिवालयलाई जबरा पक्राउ परेको विषय जानकारी गराइसकेको छ।उनलाई फौजदारी अभियोगमा पक्राउ गरिएको प्रहरीले पत्रमा भनेको छ।
त्यस क्रममा भएको हिंसात्मक गतिविधिको विवरण समेत उल्लेख गरेर संसद् सचिवालयलाई सूचना दिइएको छ । नेपालको संविधानको धारा १०३ मा सांसद पक्राउ परेपछि त्यसको सूचना सभामुख र संसद् सचिवालयलाई दिनुपर्ने व्यवस्था छ ।
संसद्को अधिवेशन चलिरहेको बेला कुनै पनि सांसदलाई पक्राउ गर्न नपाइने संविधानमा उल्लेख भए पनि फौजदारी अभियोगमा भने पक्राउ गर्न सकिने व्यवस्था संविधानले नै प्रदान गरेको छ।





