समाचार

पोस्टमार्टम पछि सविनलाई गोली लागेको पुष्टि, शव परिवारलाई बुझाइयो 

१९ चैत, काठमाडौँ । तीनकुने भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाएका सविन महर्जनको शव पोस्टमार्टम पछि परिवारको जिम्मा लगाइएको छ । कीर्तिपुर घर भएका सविनको १५ चैतमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो। 

उनको त्रिवि शिक्षण अस्पतालले केही बेरअघि पोस्टमार्टम गरेर शव परिवारको जिम्मा लगाएको हो ।

पोस्टमार्टमको क्रममा उनको शरीरमा एक गोली लागेको खुलेको छ । प्रहरी स्रोतका अनुसार उनको दायाँ हातको कुहिनो नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।

 उनको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ ।