२० चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा पुगेर पनि आफू त्यहाँबाट भागेको बताएका छन्। आज संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले मञ्चमा पूर्वराजाको जत्रै दुर्गा प्रसाईँको ठुलो फोटो देखेपछि आफू त्यहाँबाट भागेको बताएका हुन्।
‘हाम्रो पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनज्यू, ज्ञानेन्द्र शाहीसहित हाम्रो ग्रुप नै थियो। हामी प्रदर्शनमा जाने कुरा भइरहेको थियो। तर, मञ्चतिर हेर्दा त राजाको फोटो, अनि त्यही साइजको दुर्गा प्रसाईँको फोटो राखेको देखियो,ओहो, खत्तम रहेछ भन्ने लाग्यो। हामी गएनौँ। आन्दोलनलाई समर्थन गर्ने भनेर मात्र हुँदो रहेनछ। हाम्रोबाट अध्यक्ष जानुभएन, धेरै जना जानुभएन । मैले पनि यसो हेरेको दुर्गा प्रसाईँको फोटो देखेपछि टाप कसिहालेँ नि। फोटो देखेर डर लागिहाल्यो नि।’
घटनाको तुरुन्तै छानबिन गर्नु पर्ने सांसद तामाङको माग छ । उनले प्रदर्शन कार्यक्रम सुरु हुनुअघि नै प्रहरीले अश्रुग्याँस प्रहार गरेको बताए।
आफ्ना पार्टीका नेतालाई प्रहरी हिरासतमा राखिएकोमा आपत्ति जनाउँदै तुरुन्त रहा गर्न उनले माग समेत गरेका थिए।





