कृषि

गण्डकी प्रदेशमा ७९ हजार बढी हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

१४ साउन, गण्डकी । गण्डकी प्रदेशमा हालसम्म ७९ हजार ८ सय ३८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।

जुन यस वर्ष रोपाइँ हुने क्षेत्रफलको करिब ८५ प्रतिशत हो । प्रदेश कृषि विकास निर्देशनालयले यस वर्ष ९४ हजार १ सय ८२ हेक्टरमा रोपाइँ हुने अनुमान गरेको जनाएको छ। पछिल्लो तथ्यांक अनुसार सबै भन्दा बढी बागलुङमा ९५ प्रतिशत, लमजुङमा ९३ दशमलव १८ प्रतिशत, कास्कीमा ९० दशमलव ०१ प्रतिशत, नवलपुरमा ७८ दशमलव ७० प्रतिशत, तनहुँमा ८८ प्रतिशत, म्याग्दीमा ८६ दशमलव ०५ प्रतिशत, स्याङ्जामा ८१ दशमलव ८४ प्रतिशत, गोरखामा ७८ दशमलव ४० र पर्वतमा ८० प्रतिशत रोपाइँ भएको हो ।

निर्देशनालयका कृषि अर्थविज्ञ मनोज पौडेलले अकासे पानीमा निर्भर हुने क्षेत्रमा रोपाइँ केही ढिला भएको जनाएको छ। वर्षाले साथ दिएमा आगामी हप्तासम्ममा अधिकांश क्षेत्रको रोपाइँ सकिने छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङ बाहेक प्रदेशका ९ जिल्लामा धानखेती हुँदै आएको छ ।

गत वर्ष ९६ हजार ५३ हेक्टरमा धानखेती गरिएकामा यस वर्ष धानखेतीको क्षेत्रफल घटेको हो । घरघडेरीले धानको उब्जाउ क्षेत्र नासिनु, तीव्र सहरीकरण जस्ता कारणले धानखेतीको क्षेत्रफल खुम्चँदै गएको हो । क्षेत्रफल घटे पनि सिँचाइ, खेती प्रणालीमा सुधार, रोगकीरा नियन्त्रण, उन्नत बीउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुनसके धानको उत्पादकत्व बढ्ने कृषि अर्थविज्ञ पौडेलले बताएका छन्।

गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली र सुनौलो सुगन्ध लगायत जातका धानखेती गरिन्छ । प्रदेशको ४ लाख ७९ हजार ६ सय १७ हेक्टर खेतीयोग्य जमिन मध्ये बर्खे र चैते गरी करिब १ लाख हेक्टरमा धानखेती हुने गरेको निर्देशनालयले जनाएको हो ।