राजनीति

चुरे क्षेत्रको संरक्षण गर्न तीनै तहको सरकारबीच सहकार्य आवश्यकः कार्यवाहक प्रधानमन्त्री सिंह

२२ साउन, सिरहा । कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि तीनै तहको सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

लहानमा निर्माण सम्पन्न भएको नयाँ व्यापारिक भवनको बिहीबार एक समारोहबीच उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।कार्यवाहक प्रधानमन्त्री सिंहले चुरेको दीर्घकालीन संरक्षणले मधेशमा देखिएको वातावरणीय समस्या समाधान हुने उल्लेख गरेका छन् ।

उनले भनेका छन्,-‘नेपालको अर्थतन्त्रलाई अघि बढाउने क्रममा सहरी विकास तथा भवन निर्माण विभागले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दछु ।’ भवन निर्माण समयमै सम्पन्न गरेकामा प्रशंसा गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले यसले आयोजना समयमै सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको उल्लेख गरेका थिए । भवनको सही व्यवस्थापन र उपयोग गरिनुपर्नेमा उनले जोड दिएका छन् ।

त्यस्तै, कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जिल्लाको कृषि क्षेत्रको विकासका लागि कमला नदी र कोशी नदीबाट पानी ल्याई सिँचाइ आयोजना निर्माण गर्न आवश्यक रहेको बताएका थिए । किसानलाई आवश्यक मलखाद सहज रुपमा उपलब्ध गराउन उनले सरकारसँग माग समेत गरेका छन् ।

त्यस्तै, लहानका नगरप्रमुख महेशप्रसाद चौधरीले लहानलाई वीरगञ्ज र जनकपुरपछिको तेस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा चिनाउँदै, सुविधा सम्पन्न भवनले नगरको आर्थिक गतिविधि अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए । सघन सहरी तथा भवन निर्माण आयोजनाका आयोजना प्रमुख सुरेन्द्रकुमार साहका अनुसार सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरी अन्तर्गत लहान–६ र ७ मा ३१ करोड ८८ लाख रुपैयाँको लागतमा उक्त बहुउद्देश्यीय भवन निर्माण गरिएको हो ।

सोही भवन लहान नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।