१ असोज, धरान। नेपाली काँग्रेस क्षेत्र नम्बर १ सुनसरीले विभिन्न व्यक्तिहरूको सम्पत्ति तोडफोडमा संलग्न ४ जनाको मृत्यु भइसकेको भन्दै बाँकीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ ।
सभापति सुजेन्द्र तामाङले एक विज्ञप्ति जारी गर्दै आपराधिक समूहले राजनीतिक दलका पार्टी कार्यालय, होटेल, व्यापारिक भवन, वडा कार्यालयका साथै धरानका राजनीतिक एवम् सामाजिक अगुवा व्यक्तित्वहरूको निजी घर तथा सम्पत्तिहरूमा जथाभाबी तोडफोड, लुटपाट, चोरी र आगजनी गरेर धरानमा अराजकता, आतङ्क र लुटपाट मच्चाएकोप्रति घोर निन्दा, भर्त्सना र विरोध गर्दै सो क्रममा उक्त समूहले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपामा माओवादी केन्द्रको पार्टी कार्यालय, पूर्व सांसद जयकुमार राईको निजी निवास, पूर्व नगर प्रमुख एवम् नागरिक समाजका अगुवा मनोज मेन्याङ्वोको होटेल कन्चनजंगा, पूर्व उपप्रमुख मञ्जु भण्डारीको निजी निवास, नेपाली काँग्रेसका प्रदेश महामन्त्री एवम् सामाजिक व्यक्तित्व उमेश थापाको निजी निवास, नेपाली काँग्रेस सुनसरी प्रतिनिधिसभा क्षेत्र नं. १ का क्षेत्रीय सभापति एवम् समाजसेवी सुजेन्द्र तामाङको निजी निवास, नगर कार्यपालिका सदस्य सिर्जना नेपालको निजी निवास र भाटभटेनी सुपर मार्केटमा तोडफोड, आगजनी, लुटपाट तथा चोरी गर्नुका साथै २ नं. र १५ नं. वडा कार्यालय समेतमा भौतिक क्षति पुर्याएको छ भने भाटभटेनी सुपर मार्केटमा तोडफोड, आगजनी र लुटपाट भएको बताएका छन् ।

असोज २४गते जेएनजी आन्दोलनका नाममा देशभरको प्रदर्शनका क्रममा लुटपाट, आगजनी र तोडफोड भई सिंहदरबार, सर्वोच्च अदालत, संसद् भव नदेखी वडा स्तरका कार्यालयसम्म तोडफोड आगजनीका कारण मुलुकले खरबौँको क्षति बेहोर्नुपरेको अवस्था छ । तोडफोड र आगजनीको क्षतिपूर्ति उपलब्ध गराउन तथा आक्रमण गर्नेहरूलाई कानुनबमोजिम कारबाही गर्न काँग्रेसले अनुरोध गरेको छ ।

काँग्रेस क्षेत्रीय कार्यालयले निकालेको विज्ञप्ति
जेन–जीद्धारा भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरुद्धमा भएको आन्दोलनमा ७२ जनाको ज्यान गएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु ।
देशमा व्याप्त भ्रष्टाचार अन्तका लागि र देशको सुन्दर भविष्यका लागि खबरदारी गर्ने क्रममा ज्यान गुमाउन पुगेका नेपाली आमाका महान् सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र यस दुःखद घटनाप्रति शोक व्यक्त गर्दै शोकमा रहनु भएका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु । आन्दोलनका क्रममा घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यो घटना लोकतन्त्र माथि कै सबैभन्दा घातक एवम् खतरनाक प्रहार भएकाले शान्तिपूर्ण आन्दोलनलाई युद्धको रणभूमि बनाएर आस लाग्दा अबोध युवाहरूलाई मार्ने र सयौँलाई घाइते बनाउने निन्दनीय क्रूर हिंसात्मक घटनामा संलग्नहरूलाई कडा भन्दा कडा कारबाही गरियोस् भनी माग गर्दछु ।
जेन–जी पुस्ताले देश निर्माणमा चासो र नेतृत्वदायी सहभागिताका लागि सुशासन र वाक स्वतन्त्रताको देशव्यापी बिगुल फुकेर जुन ढङ्गको राजनीतिक चेतना देखाएका छन् त्यसप्रति सम्मान र ऐक्यबद्धता जनाउँदै पार्टी नेतृत्वले अझ बढी गम्भीर र संवेदनशील भएर अब दोस्रो पुस्तालाई सहज रूपमा पार्टी र देशको नेतृत्व हस्तान्तरण गर्न समेत जोडदार माग गर्दछु । त्यसै गरी जेन–जी पुस्ताले गरेको अभूतपूर्व एवम् बलिदानपूर्ण आन्दोलनबाट निर्मित नयाँ सरकारले विद्यमान संविधान र जेन–जी वर्गको भावना बमोजिम देशलाई निकास दिन सकोस् र यसका लागि पूर्ण रुपमा ऐक्यबद्धता रहेको समेत जाहेर गर्दछु ।
यसै सन्दर्भमा आन्दोलनको उत्सकर्षसंगै सिर्जित जेन–जीको माग बमोजिम दोस्रो दिन भदौ २४ गते प्रधानमन्त्रीको राजीनामा आइसकेपछि धरानमा आन्दोलित जेन–जी साथीहरूले करिब अपराह्न ४ः३० बजे आन्दोलन सफल भएको उद्घोष गर्दै सबैलाई धन्यवाद दिएर आन्दोलनको कार्यक्रम समापन गरिसकेको अवस्थामा तत्पश्चात जेन–जीको नाममा आपराधिक समूहले राजनीतिक दलका पार्टी कार्यालय, होटेल, व्यापारिक भवन, वडा कार्यालयका साथै धरानका राजनीतिक एवम् सामाजिक अगुवा व्यक्तित्वहरूको निजी घर तथा सम्पत्तिहरूमा जथाभाबी तोडफोड, लुटपाट, चोरी र आगजनी गरेर धरानमा अराजकता, आतङ्क र लुटपाट मच्चाएकोप्रति घोर निन्दा, भर्त्सना र विरोध गर्दै सो क्रममा उक्त समूहले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपामा माओवादी केन्द्रको पार्टी कार्यालय, पूर्व सांसद जयकुमार राईको निजी निवास, पूर्व नगर प्रमुख एवम् नागरिक समाजका अगुवा मनोज मेन्याङ्वोको होटेल कन्चनजंगा, पूर्व उपप्रमुख मञ्जु भण्डारीको निजी निवास, नेपाली काँग्रेसका प्रदेश महामन्त्री एवम् सामाजिक व्यक्तित्व उमेश थापाको निजी निवास, नेपाली काँग्रेस सुनसरी प्रतिनिधिसभा क्षेत्र नं. १ का क्षेत्रीय सभापति एवम् समाजसेवी सुजेन्द्र तामाङको निजी निवास, नगर कार्यपालिका सदस्य सिर्जना नेपालको निजी निवास र भाटभटेनी सुपर मार्केटमा तोडफोड, आगजनी, लुटपाट तथा चोरी गर्नुका साथै २ नं. र १५ नं. वडा कार्यालय समेतमा भौतिक क्षति पुर्याएको छ भने भाटभटेनी सुपर मार्केटमा तोडफोड, आगजनी र लुटपाट गर्ने क्रममा ४(चार) जनाको मृत्यु समेत भएको दुःखद सत्य पुष्टि भइसकेको छ ।
अतः धरानका जेन–जी पूस्ता र सिङ्गो धरानलाई नै बद्नाम गराउने, समाजमा भय र त्रासको वातावरण सिर्जना गर्ने उत्श्रृङ्खल एवम् आपराधिक क्रियाकलापमा संलग्न ती सबै व्यक्तिहरूलाई अविलम्ब पक्राउ गरी क्षतिपूर्ति असुली सहित हदैसम्मको कानुनी कारबाही गर्न जोडदार माग गर्दै धरानको शान्ति, सुरक्षा र अमनचैन कायम गराउन र त्यस्ता फटाहाहरूलाई कानुनी कठघरामा उभ्याउन सहयोग गर्न धरानका न्याय प्रेमी जेन–जी पुस्ताका तमाम साथीहरूमा हार्दिक अपिल समेत गर्दछु ।
धन्यवाद, जय नेपाल !
………………
सुजेन्द्र तामाङ
क्षेत्रीय सभापति







