समाचार

वाग्मती सफाइ महाअभियान ६५१औँ हप्तामा

१५ कात्तिक, काठमाडौँ । ‘राष्ट्रका नाममा हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ६५१ हप्तामा प्रवेश गरेको छ ।

वाग्मती सफाइ महाअभियानले ६५० हप्ता पूरागरी ६५१ हप्ता प्रवेश गरेको अवसरमा आज अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय परिसर गुह्येश्वरीमा प्रतिबद्धता कार्यक्रम गरियो । कार्यक्रममा सहरी विकासमन्त्री कुलमान घिसिङले नदीनालामा फोहर आउन रोक्न जागरण फैल्याउनुपर्ने बताए । 

उनले राजधानीका सबै नदीलाई सफा गरिनुपर्नेमा जोड दिँदै जागरणले सबैलाई झक्झक्याउने बताए । काठमाडौँलाई सुन्दर बनाउन आवश्यक काम गर्न गुरुयोजना निर्माण गर्न लागिएको मन्त्री घिसिङले जानकारी दिए। “राजधानीमा ढल व्यवस्थापन, पानी प्रशोधन केन्द्र आवश्यक जति सबै स्थानमा निर्माण गरिनेछ । नदी करिडोरमा के के गर्न सकिन्छ, यसलाई पनि योजना बनाएर काम गर्नेछौँ । यसैगरी काठमाडौँका सबै खोलालाई स्नान योग्य पानी बग्नेगरी व्यवस्थापन गरिनुपर्छ । बगैँचा निर्माणलगायत सहरी विकास मन्त्रालयबाट गर्नुपर्ने सबै काम हुन्छ, यो मेरो प्रतिबद्धता हो”, उनले भने।

मन्त्री घिसिङले वाग्मती सभ्यताको महत्त्वपूर्ण नदी भएकाले यसको सफाइमा सरकारले ध्यान दिने र काठमाडौँ उपत्यकाका रुद्रमती, विष्णुमती, मनमतीलगायत सबैलाई स्नान योग्य बनाइने सुनाए । 

सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले १३ वर्षदेखि स्वयंसेवी रूपमा वाग्मतीलगायत नदी सफाइ हुनु गौरवको विषय भएको बताए । पशुपति क्षेत्रसम्मको वाग्मती नदीलाई यसैवर्ष ढल मुक्त गरिसक्ने उनको प्रतिबद्धता थियो ।

कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले वाग्मती नदीमा ढल व्यवस्थापन गर्ने कार्यालयको नाम अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति राखिए पनि अधिकार कटौती गर्दा काम हुन नसकेको बताए । मन्त्री र सचिवमा अधिकार निहित गरेर कार्यालयको नाम अधिकार सम्पन्न राखे पनि काम हुन नसकेको भन्दै उनले समितिको पुनसंरचना गर्नुपर्नेमा जोड दिए । 

गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक रिसालले नगर क्षेत्रको वाग्मती सफाइका लागि विभिन्न टोलसुधार समितिलाई जिम्मा दिइएको बताए । कर्मचारी राखेर नै नदी क्षेत्रलाई व्यवस्थित गर्न लागिएको उनले सुनाए । 

वाग्मती सफाइ महाअभियानका मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेलले राष्ट्रिय जागरणका लागि सफाइ अभियान सुरु गरिएको बताए । उनले देशभर जागरण ल्याउन महाअभियान सफल भए पनि तीनै तहका सरकारले आवश्यकता अनुसार ध्यान नदिँदा नदी सफा हुन नसकेको धारणा राखे । देशभरका नदीनाला सफा हुने वातावरण बनाएर अभियानकर्मीलाई अन्य काममा लगाउनुपर्ने पूर्वमुख्यसचिव पौडेलको भनाइ थियो ।

अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख प्रकाश अर्यालले वैशाखअगावै गोकर्णेश्वरबाट गौरीघाटसम्मको वाग्मतीलाई ढलमुक्त गरिने प्रतिबद्धता जनाए । उनले विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका नदी किनारका २८ वटा सम्पदा पुनःनिर्माण सम्पन्न गरिएको पनि उनले दिए । आयोजना स्थापना भएदेखि हालसम्म रु २३ अर्ब बजेट खर्च भइसकेको अर्यालले जानकारी दिए ।

वाग्मती सफाइ महाअभियान ६५१औँ हप्तामा प्रवेश गरेको अवसरमा आज गुह्येश्वरीबाट गौरीघाटसम्मको नदी किनारमा सफाइ गरिएको थियो । छठ पर्वमा यस क्षेत्रमा जम्मा भएका बाँकी फोहर आजको सफाइ कार्यक्रमबाट उठाइएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए।