१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँच र सिफारिसका भरमा करारमा भर्ती गरिएका कर्मचारीलाई तत्काल बर्खास्त गर्न निर्देशन दिएकी छिन्। पर्यटन मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले आइतबार सिंहदरबारमा निगमका सञ्चालक समिति र व्यवस्थापन टोलीलाई बोलाउँदै संस्थाभित्रको नातावाद, कृपावाद र विभेद अन्त्य गर्न कडा निर्देशन दिइन्।
उनले भनिन्, “जेनजीहरूले रगत बगाएको केका लागि हो ? यस्ता नातावादी र कृपावादी प्रवृत्ति अन्त्यका लागि होइन र? यहाँ आन्दोलन भइरहेको बेला निगमभित्र आफ्ना मान्छे भर्ती गर्ने कार्य लाजमर्दो छ । ”गौरवको प्रतीक रहेको निगम आज दर्दनाक अवस्थामा पुगेको भन्दै कार्कीले संस्थाभित्रको बेथिति नियन्त्रणका लागि “कसैको मुख नहेरी कठोर कदम चाल्न” आग्रह गरिन् ।
निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले संस्थामा हाल १७ अर्ब रुपैयाँभन्दा बढीको घाटा रहेको विवरण प्रस्तुत गरे। त्यसपछि प्रधानमन्त्री कार्कीले निगमको अवस्था “धनाढ्यको बिग्रेको घर” सँग तुलना गर्दै भनिन्, “हेर्दा सबैथोक भएको जस्तो देखिन्छ, तर भित्र शून्यता र अव्यवस्था मात्र छ।”
उनले अहिलेसम्म बनेका सुधार प्रतिवेदनका सुझाव तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिँदै अनावश्यक राजनीतिक दबाब नमान्न चेतावनी दिइन् । “राजनीतिक मान्छेले दबाब दिन सक्छन्, तर त्यसका कारण विधिविपरीत काम नगर्नुहोस्। राम्रो काम गर्दा अख्तियारसँग डराउनुपर्दैन,” उनले भनिन्।
प्रधानमन्त्रीले निगमका जहाजका इन्जिन मर्मतका नाममा अनावश्यक खर्च गर्ने, भाडामा इन्जिन चलाउने जस्ता अनियमिततामाथि पनि प्रश्न उठाइन्। “यो घाटा त जनतामाथि परेको भार हो,” उनले भनिन्, “संस्था सुधार्न आवश्यक भए कठोर र अप्रिय निर्णय गर्न पनि तयार हुनुपर्छ।”
उनले निजी कम्पनीहरू नाफामा चलिरहँदा राज्यको निगम निरन्तर घाटामा जानु गम्भीर विषय भएको बताइन्। “सरकारले पर्याप्त स्रोतसाधन उपलब्ध गराउँछ, तर नतिजा शून्य। बरु यही पैसाले विद्यालय वा अस्पताल बनाएको भए देशले केही फाइदा पाउँथ्यो,” कार्कीको टिप्पणी थियो।
निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले सुधारका लागि छिट्टै ठोस कदम चालिने प्रतिबद्धता जनाउँदै भने, “अप्रिय भए पनि आवश्यक निर्णय गर्न तयार छु, सरकारको समर्थन अपेक्षा गर्दछु।”
प्रधानमन्त्री कार्कीले अन्त्यमा भनिन्, “संस्था सुधारका लागि तपाईंहरू अघि बढ्नुहोस्, सरकार तपाईंहरूको साथमा छ।”
कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्यालसहित उच्च अधिकारीहरूको उपस्थिति थियो। साथै, प्रधानमन्त्रीले निगमभित्रका अनियमितता छानबिन गरी बनेका प्रतिवेदनका आधारमा तत्काल कारबाही गर्न पनि निर्देशन दिइन्।





