समाचार

प्रचण्डको नेतृत्वमा कम्युनिष्ट दलबीच एकता प्रक्रिया सुरु

१६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको पहलमा विभिन्न दलबीच हुने एकता प्रक्रिया सम्बन्धी छलफल सुरु भएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा एकतामा जाने दलका नेताहरू छलफलका लागि भेला भएका छन्।

छलफलमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, डा। बाबुराम भट्टराई नेतृत्वको पार्टीबाट अलग भएर बनेको महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेकपा एमालेबाट अलग भएको प्रेमबहादुर सिंह नेतृत्वको पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवास काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी र विप्लव समूहबाट अलग भएको चिरण सी नेतृत्वको समूह सहभागी छन्।

माओवादी केन्द्रका नेताहरूको दाबी अनुसार, गोपाल किराती पनि एकता प्रक्रियामा सहभागी हुनेछन्, तर अहिलेसम्म उनी छलफलमा आएका छैनन्।

नेताहरूका अनुसार, एकतापछि बन्ने नयाँ पार्टीको नेतृत्व प्रचण्डले गर्नेछन्। छलफलमा तत्कालका लागि प्रचण्डलाई संयोजक र माधवकुमार नेपाललाई सहसंयोजक बनाउने सहमति भएको बताइएको छ।

यसअघि, एकीकृत समाजवादीको केन्द्रीय समितिले शुक्रबार माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो भने माओवादी केन्द्रले पनि शनिबार यसैगरी कम्युनिष्ट दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो।