समाचार

कांग्रेस संस्थापन पक्षको छुट्टै भेला : विशेष महाधिवेशन र निर्वाचन तयारीमा छलफल

१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूको छुट्टै भेला आज नयाँ बानेश्वरस्थित आनन्दभूमि बैंक्वेटमा बसेको छ। भेलामा केन्द्रीय कार्यसम्पादन समितिमा नपरेका केन्द्रीय सदस्यहरूको सहभागिता रहेको छ।

भेलामा आगामी १५औं महाधिवेशनको मिति प्रस्ताव गर्ने र २१ फागुनमा तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि तयारी थाल्ने विषयमा छलफल भइरहेको छ।

कांग्रेस पार्टीका एक केन्द्रीय सदस्यका अनुसार, पार्टीको आवधिक निर्वाचन प्रक्रियाबाट नभाग्ने र आगामी दिशा तथा निकासबारे स्पष्ट रणनीति बनाउन भेलाको उद्देश्य रहेको छ।

त्यस्तै, विशेष महाधिवेशनको मागबारे पनि यस भेलामा स्पष्टता ल्याउने तयारी गरिएको छ। हाल पार्टीमा दर्ता भएका हस्ताक्षरहरूको सत्यता पुष्टि (भेरिफिकेशन) गर्ने विषयमा समेत छलफल भइरहेको बताइएको छ।

संस्थापन पक्षका नेताहरूले हस्ताक्षरको प्रमाणिकता पुस्ट भएपछि मात्र विशेष अधिवेशनको विषयमा टुंगो लगाउने अडान लिएका छन्।