१७ कात्तिक, काठमाडौं । नेकपा एमालेले मंसिर २७ गते काठमाडौंमा भव्य जनसभा आयोजना गर्ने तयारी गरेको छ। पार्टीका महासचिव शंकर पोखरेलका अनुसार यो सभा नेपालको इतिहासमै सबैभन्दा ठूलो हुने दाबी गरिएको छ।
प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले हाल केही समूहहरूले प्रमुख राजनीतिक दलहरूबाट जनता अलग भइसके भन्ने भ्रम फैलाउन खोजिरहेको आरोप लगाउँदै, एमालेको जनसभाले त्यस भ्रमलाई तोड्ने बताए।
उनका अनुसार, देशभरका पार्टी संरचनाहरूलाई सक्रिय बनाउन एमालेले चरणबद्ध आन्दोलनका कार्यक्रम अघि सारेको छ। कार्यक्रमअनुसार कात्तिक २२ गते वडास्तरीय जनभेला, २५ गते पालिकास्तरमा र्याली, २९ गते जिल्लास्तरीय सभा, र मंसिर ६ गते उपत्यकास्तरीय र्याली आयोजना हुनेछ।
पोखरेलले भने, “मंसिर २७ को जनसभा हाम्रो शक्तिको प्रदर्शन मात्र होइन, जनताले अझै पनि स्थायित्व, विकास र जिम्मेवार नेतृत्वको साथमा छन् भन्ने सन्देश हो।”





