१८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति प्रश्न उठाएका छन्। उनीहरूले पार्टीभित्रको स्थिति कमजोर भएको र संस्थागत उपस्थिति देखिएको छैन भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
मंगलबारको बैठकले पार्टी राजनीतिक घटनामा मध्यस्थकर्ता बन्न नसकेको र अध्यक्षको कार्यशैलीले विश्वसनीयता घटाएको जनाएको छ।
असन्तुष्ट पक्षको बुझाइ अनुसार, गत १५ चैत र जेठमा भएको राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरूमा नेतृत्वको भूमिका विवादास्पद भएको छ। बैठकले अध्यक्ष लिङ्देनलाई ध्यानाकर्षण गर्दै पार्टी कहिल्यै सचेत नभएको र असंगत कार्यले निराशा बढाएको बताएको छ।
बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा अध्यक्षको देखिनुलाई विरोधाभासी र संवैधानिक व्यवस्था विपरीत भएको टिप्पणी गरेको छ।
साथै, असन्तुष्ट पक्षले आन्तरिक निर्वाचनमा मन नपरेका व्यक्तिलाई कानुनविपरीत पदमुक्त, निलम्बन र निष्कासन गरिएकोमा असन्तोष व्यक्त गर्दै, पार्टी विधान अनुसार निष्पक्ष महाधिवेशन र नेतृत्व चयनको माग गरेको छ।
बैठकले निर्वाचन समिति र पर्यवेक्षक टोलीमा सन्तुलन कायम गर्न, दुई पूर्वअध्यक्षसहित विवाद समाधान समिति गठन गर्न र पार्टी सञ्चालन सुधार्न मागपत्र पठाएको जनाएको छ।





