समाचार

विमानस्थलमा यात्रु जाँच र सुरक्षा प्रणालीमाथि उठ्यो प्रश्न

१९ कात्तिक, काठमाडौं । उच्चस्तरीय आयोगले नेपालका विमास्थलमा गरिने जाच प्रणालीमा प्रश्न गरेको छ । नेपालका अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई गरिने हातले छामछुम जाँच र भन्सार निरीक्षण प्रक्रियालाई उच्चस्तरीय अध्ययन तथा सुझाव आयोगले अस्वाभाविक र झन्झटिलो ठहर गरेको हो।

आयोगले नागरिक उड्डयन क्षेत्रको सुधारका लागि बुझाएको प्रतिवेदनमा अहिलेको भन्सार निरीक्षण प्रणाली पर्यटकमैत्री नभएको र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नचलिएको जनाएको छ।

त्यस्तै, विमानस्थलमा खटिएका सुरक्षाकर्मीको व्यवहार, निजी सुरक्षाकर्मीहरूको नियन्त्रणरहित क्रियाकलाप, र पार्किङ शुल्क असुलीका नाममा यात्रुलाई असहज बनाउने अभ्यासबारे पनि आयोगले आलोचना गरेको छ। यात्रुलाई सवारीमा चढ्न रोक्ने, असहयोगी व्यवहार गर्ने र प्रहरीको निष्क्रिय भूमिकाले विमानस्थलमा सुरक्षाप्रतिको विश्वास घटाएको आयोगको भनाइ छ।