२३ कात्तिक, काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी स्वास्थ्य समस्या भएपछि उपचारका लागि आज बिहान काठमाडौं गएकी छन् । बिहान करिब चार बजे जनकपुरधामस्थित आफ्नो सरकारी निवासबाट उनले राजधानीको यात्रा थालेकी हुन् ।
उनी प्रस्थान गर्नुअघि मुख्यमन्त्री जितेन्द्र सोनलले निवासमै पुगेर प्रदेश प्रमुखलाई बिदा गरेका थिए । पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री सोनलले भण्डारीको स्वास्थ्य अवस्था बिग्रिएकाले तत्काल काठमाडौं पठाइएको जानकारी दिए ।
“प्रदेश प्रमुख अस्वस्थ हुनुहुन्छ, उपचारका लागि काठमाडौं जानुभएको हो,” सोनलले भने, “उहाँ हाम्रो अभिभावक हुनुहुन्छ, स्वास्थ्य लाभको कामना गर्दै बिदा गरेँ।”
मुख्यमन्त्री सोनलले भण्डारी पूर्ण रूपमा स्वास्थ्य लाभ पाएपछि प्रदेशको राजनीतिक प्रक्रिया अघि बढ्ने पनि बताए ।





