प्रदेश 2

एमालेका सरोज यादव मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त

२३ कात्तिक, काठमाडौं । मधेश प्रदेशमा अचानक राजनीतिक उल्टफेर भएको छ । बिहान अस्वस्थता जनाउँदै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले केही घण्टामै नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी छन् ।

यसअघि मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका थिए । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नाताले एमाले नेता यादव मुख्यमन्त्री बनेका हुन् ।

राजीनामापछि सोनलले प्रदेश प्रमुखको स्वास्थ्य लाभको कामना गर्दै बिदाइ गरेका थिए र पत्रकारहरूसँग भनेका थिए– “उनको स्वास्थ्य सुधार भएपछि राजनीतिक प्रक्रिया अघि बढ्छ।” तर केहीबेरमै प्रदेश प्रमुखको कार्यालयबाट यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको पत्र सार्वजनिक भयो, जसले मधेशको राजनीतिक तापक्रम फेरि बढाएको छ ।