प्रदेश 2

रातारात नियुक्त भएका यादवले होटलमै लिए मुख्यमन्त्रीको शपथ

२४ कात्तिक, काठमाडौं । मधेश प्रदेशमा राजनीतिक घटनाक्रम रातारात फेरिएको छ । नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले आज बिहान बर्दिबासको पानस होटलमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् ।

भण्डारीले आइतबारकै मितिमा यादवलाई संविधानको धारा १६८(३) अनुसार ठूलो दलको नाताले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । विशेष कुरा के भने, केही घण्टाअघि मात्रै उनी अस्वस्थता जनाउँदै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी थिइन् ।

यादवको नियुक्तिपछि निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले भण्डारीमाथि मधेश प्रदेशको “अस्मिता समाप्त पार्ने खेल खेलेको” आरोप लगाएका छन् ।