२५ कात्तिक, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुख सुमित्रा सुवेदी बिरामी भएर काठमाडौं जाँदै गर्दा बाटोमै शपथ लिनुपरेको बताएका छन्। उनले आफ्नो नियुक्ति संवैधानिक भएको स्पष्ट पारे।
सञ्चारकर्मीसँग उनले भने, “प्रदेश प्रमुख बिरामी भएकाले पानस होटलमै शपथ लिन बाध्यता भयो।” अघिल्ला मुख्यमन्त्रीहरू पनि फरक–फरक स्थानमा शपथ लिएको उनले स्मरण गरे।
पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामापछि सुवेदीले एमाले नेता यादवलाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
सोमबार बिहान सुवेदीले बर्दिबासस्थित पानस होटलमा शपथ खुवाएकी थिइन्। आलोचना बढेपछि साँझ मन्त्रिपरिषदले सुवेदीलाई पदमुक्त गरी सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ।





